पाल्पामा खोलाले बगाउँदा पाँच वर्षिय बालिकाको मृत्यु

पाल्पामा खोलाले बगाउँदा पाँच वर्षिय बालिकाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित मन्दी खोलाले बगाएर बिहीबार एक बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुने बालिका रिब्दीकोट–५, नयाँटोलकी पाँच वर्षकी प्रिन्सु पचभैया हुन्। बिहीबार अपराह्न साढे ४ बजेतिर कुसुमखोलाको नयाँ टोलबाट भैरवस्थानको रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो । खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कवितालाई पनि बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार सँगै खोला तरेकी मीना रानालाई पनि बगाएको थियो । खोलाले बगाएका कविता र रानाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरीका अनुसार खोलाले बगाएको मीना घाइते भएको र उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । कविता सकुशल रहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation