टी–२० विश्वकप क्रिकेटमा युएईलाई हराउँदै श्रीलंकाको पहिलो जित

अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ। मंगलबार जिलोङमा भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले युएईलाई ७९ रनले हराउँदै पहिलो जित निकालेको हो।

श्रीलंकाले दिएको १५३ रनको लक्ष्य पछ्याएको युएई १७.१ ओभरमा अलआउट हुँदै ७३ रनमा समेटियो।

युएईका लागि आयान अफजाल खानले सर्वाधिक १९ रन बनाए। यस्तै जुनाइद सिद्धिकीले १८ रन बनाउँदा चिराग सुरीले १४ रन बनाए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

युएईलाई सस्तैमा रोक्न श्रीलंकाका दुस्मन्ता चामिरा, वानिन्दु रसरंगाले समान ३/३ विकेट लिए। महेश थिक्सानाले २ विकेट लिए।

यसअघि जित्नै पर्ने खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो।

उसका लागि पथुम निशांकाले सर्वाधिक ७४ रन बनाए। यस्तै धनन्जय डि शिल्भाले ३३ रन बनाउँदा मुशल मेन्डिसले १८ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

श्रीलंकालाई मध्यम स्कोरमा रोक्न युएईका कार्तिक मयप्पनले ह्याट्रिक विकेट लिए।

खेलको १५ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै मयप्पनले ह्याट्रिक पुरा गरेका हुन्।

उनले १५ औं ओभरको चौथो बलमा भानुका राजपाक्षलाई ५ रनमा आउट गरेका थिए भने पाँचौ बलमा चरिता असलङ्का र अन्तिम बलमा दसुन सनाकालाई शून्यमा आउट गरे।

जाहुर खानले २ तथा आयन लाक्रा र आयन अफजाल खानले १/१ विकेट लिए।

यसअघि आजै भएको पहिलो खेलमा नेदरल्याण्ड्सले लगातार दोस्रो जित निकालेको छ।

जिलोङमा मंगलबार भएको खेलमा नेदरल्याण्ड्सले नामिबियामाथि ५ विकेटको जित निकाल्दै सुपर १२ नजिक पुगेको हो।

नामिवियाले दिएको १ सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले ५ विकेट गुमाएर तीन बल बाँकी छँदै भेटायो।

उसको लागि विक्रमजित सिंहले ३९ रन बनाउँदा म्याक्स ओडोडले ३५ रन जोडे। यस्तै बास डे लिडेले ३० रन बनाएका थिए।

नामिवियाका जेजे स्मिथले दुई विकेट लिँदा बर्नार्ड स्कोल्ड्च र जान फ्रायलिङ्कले १/१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नामिवियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन बनाएको थियो। उसका लागि जान फ्राइलिंकको सर्वाधिक ४३ रन बनाएका थिए।

मिचेल भान लिङ्गेनले २० रन जोड्दा कप्तान गेरहार्ड इसासमसले १६ रन बनाएका थिए।

पहिलो खेलमा नामिबियाले श्रीलंकालाई र नेदरल्याण्ड्सले यूएईलाई हराएका थिए।

समूह ए मा दुई खेलमा चार अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। नामिविया दोस्रो र श्रीलंका तेस्रो स्थानमा छन्। युएईले २ खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन।

यो समूहबाट शीर्ष २ टोली सुपर १२ मा प्रवेश गर्नेछ। सबै टोलीले अब १/१ खेल खेल्न बाँकी छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation