एजेन्सी । न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियामाथि ८९ रनको सानदार जित हात पारेको छ । ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शनका साथ न्युजिल्यान्डले उत्कृष्ट विजयी सुरुवात गरेको हो ।
जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.१ ओभरमा १ सय ११ रनमा अल आउट भयो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले २० बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २८ रनमा आउट भए ।
अष्ट्रेलियाको सुरुवात नै खराब रह्यो । दोस्रो ओभरको पहिलो बलमा टिम साउथीको बलमा डेविड वार्नरलाई ५ रनमा बोल्ड गरे । स्पिनर मिचेल सान्टनारको चौथो ओभरको अन्तिम बलमा कप्तान आरोन फिन्च १३ रनमा केन विलियम्सनबाट क्याच आउट भए ।
कभरमा सट खेल्न खोज्दा फिन्च एक्स्ट्रा कभरमा क्याच हुन पुगे । त्यसपछि साउथीको बलमा ठूलो सट खेलेपनि हाइ जादा डिप मिडविकेटमा जेम्श निसमले १६ रनमा उत्कृष्ट क्याच लिए । मार्शले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
सान्टनारको नवौं ओभरको दोस्रो बलमा मार्कस स्टोइनिसको क्याच ग्लेन फिलिप्सले सानदार रुपमा लिएपछि समाएपछि जितको सम्भावना टाढिएको थियो । स्टोइनिस १४ बलमा खेल्दै ७ रन बनाए ।
टिम डेविड ११ र म्याथ्यु वेड २ रनमा क्याच भएपछि अष्ट्रेलिया ८२–६ को अवस्थामा पुगेको थियो । ग्लेन म्याक्सवेल स्वीप खेल्ने धुनमा ईश सोधीको बलमा २८ रनमा बोल्ड भए । प्याट कमिन्स २१, मिचेल स्टार्क ४ र एडम जाम्पा शून्यमा आउट भए ।
न्युजिल्यान्डका टिम साउथीले २।१ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसन र ईश सोधीले एक एक विकेट लिए ।
त्यसअघि सिड्नीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर डेभन कन्वेले ५८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनमा अविजित रहे ।
न्युजिल्यान्डलाई ओपनर फिन एलेनले सानदार सुरुवात दिलाए । पावर प्लेको भरपूर्ण फाइदा उठाउँदै उनले १६ बलमा ५ चौका र ३ छक्कासहित ४२ रनको विष्फोटक इनिङ खेले । एलेन तीव्र गतिका बलर जोश हेजलवुडको बलमा अघि बढेर सट खेल्ने धुनमा योर्करमा बोल्ड हुन पुगे । त्यो समय ४।१ ओभरमा ५६–१ को अवस्था पुगेको थियो । पहिलो पावर प्लेमा ६५–१ को अवस्थामा थियो ।
त्यसपछि केन विलियम्सन र कन्वेले ५३ बलमा ६९ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाए । विलियम्सन एडम जाम्पाको बलमा २३ रनमा एलबीडब्लू आउट भए । २३ बल खेलेका विलियम्सनले १ चौका र १ छक्का हाने । विलियम्सन स्वीप खेल्ने धुनमा मिस भएका थिए ।
ग्लेन फिलिप्स १० बल खेल्दै १२ रनमा आउट भए । जेम्श निसम १३ बलमा २ छक्कासहित २६ रनमा अविजित रहे । चौथो विकेटका लागि निसम र कन्वेले २४ बलमा ४८ रनको साझेदारी गरे ।
अष्ट्रेलियाका जोश हेजलवुडले प्याट कमिन्सले ४ ओभरमा ४६ रन खर्चे । जोश हेजलवुडले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३६ रन खर्चिए । एडम जाम्पाले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।
न्युजिल्यान्डले अव अक्टोबर २६ मा अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलियाकाले २५ अक्टोबरमा श्रीलंकासँग खेल्नेछ । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।
सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् । हरेक समूहबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।