राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेललाई प्युठानमा चुनाव जित्न कति सहज ?

उपकार अनलाइन, प्युठान ।
२०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यस पटक समेत नेपाली कांग्रेस, माओवादी सहितको बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवार बन्नु भएको छ । उहाँसँग नेकपा एमालेका सुर्य थापाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पौडेले २०७४ को निर्वाचन थापाकै भुमिकामा जितेको एमालेको दावी छ । उक्त निर्वाचनमा पौडेलले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेललाई पराजित गर्नु भएको थियो। तत्कालीन निर्वाचनमा जुन पार्टीका उमेदवारलाई उम्मेदवारलाई पौडेलले हराउनु भएको थियो, परिस्थिति फरक भएको छ जब कि अहिले पौडेलले त्यही पार्टीको समर्थन पाउनु भएको छ।उता २०७४ को सारथी बनेको नेकपा एमालेका थापा प्रतिस्पर्धामा आउनु भएको छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको साथ पाएकाले पौडेलले केही सहज महसुस गर्नु भएको छ, यद्यपि एक्लै प्रतिस्पर्धामा रहनु भएका एमालेका उम्मेदवार थापा यस पटक पौडेललाई हराउने दाउमा हुनु हुन्छ । २०७० मा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य भएकी पौडेलले २०७४ मा प्यूठानबाट निर्वाचन जित्नु भएकी पौडेल तेस्रो पटक सांसद बन्ने प्रयासमा हुनुहुन्छ। पौडेल सांसद हुँदा जिल्लाको समृद्धि र विकासमा ध्यान नपुगेको सर्वसाधारण मध्ये कति पयको गुनासो छ। उता थापा पनि तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र केपी वलीको प्रेस सल्लाहकार नै हुनु भयो, जुन मन्त्री स्तरकै ओहोदामा हुँदा प्युठानले के पायो भन्ने व्यापक जनगुनासो छ। पौडेलका प्रतिस्पर्धी थापा पहिलो पटक संसदीय चुनावमा होमिनु भएको हो। उम्मेदवारी दर्तासँगै चुनाव प्रचार प्रसार सुरु गरेका दुवै उम्मेदवारले विगतमा प्यूठानमा खेलेको भूमिका प्रस्तुत गर्न थालेका छन् ।थापाले निर्वाचन जिते आफू मन्त्री बन्ने संकेत गर्द‌ै आउनु भएको छ ।

नेकपा एमालेमा आएको फुटका कारण जिल्लामा पार्टी संगठन कम्मजोर बन्नु र पार्टि भित्र आन्तरिक विवादले थापालाई निर्वाचन जित्न कठिन हुने विश्लेषकहरुको दावी छ। एमालेले स्थानीय तहमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने र नयाँ मतदाता रिझाउनु पर्ने देखिन्छ। उता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार नभएकाले उनीहरुको मत तान्ने योजना एमालेको छ ।तर गठवन्धन एकढिक्का भएकाले मत तान्ने कुनै आधार नरहेको गठवन्धन दलका जिल्ला स्तरका नेताहरुको भनाई छ । प्यूठानबाट प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा। गोविन्दराज पोखरेलले निर्वाचनमा गठबन्धनका उम्मेद्वार पौडेलका लागि भोट माग्न नसकिने अभिव्यक्ति दिनु भएको छ। उहाँले गठबन्धनका नाममा प्यूठानको कांग्रेसलाई कमजोर बनाउने गरी भएको सहमतिको समर्थन गर्न नसकिने अभिव्यक्ति दिनु भएको थियो। डा. शेखर कोइराला पक्षमा खुलेकाले पोखरेलले टिकट नपाएको बुझाई छ। यता जिल्ला स्तरमा भने कुनै विवाद नभएको नेपाली काङ्ग्रेस प्युठानका सभापति विष्णु गिरीको दावी छ। प्युठानमा प्रदेश क मा माओवादी नेता कृष्ण अधिकारी प्रकाश र प्रदेश ख मा नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता रोज राणा उमेदवार वन्नु भएको छ। उता नेकपा एमालेले प्रदेश क मा तुल्सीराम शर्मा र प्रदेश ख मा हरी प्रसाद रिजाललाई दोस्रो पटकका लागि उमेदवार उठाएको छ।

संयुक्त बाम लोकतान्त्रिक गठवन्धनकि प्रतिनिधि सभा तर्फकी साझा उमेदवार पौडेलले अधुरा र अपुरा विकासका योजनाई प्राथमिकतामा राख्नु भएको छ।यसपटक पनि निर्वाचन जितिसकेको बताउँदै उहाँले जिल्लाको समग्र विकास र समृद्धि मा लडिरहने बताउनु भएको छ। गएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेको भन्दा सत्ता गठबन्धन ११ हजार मत बढी छ । त्यसले पनि यश पटकको निर्वाचन एमालेलाई चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ । प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको थियो। जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत मात्रै पाउँदा१० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ तथा १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको थियो। त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले १ हजार ४१७ , कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले १ हजार ३२२ मत पाएको थियो ।यसरी पनि गठवन्धनमा कहिकतै खटपट आए पनि सवै मत एमालेमा नजाने गठवन्धन दलका नेताहरुको भनाइ छ।यसरी गएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा फेरि पनि संयुक्त बाम लोकतान्त्रिक गठवन्धनका साझा उमेदवारको जित निश्चित जस्तै देखिन्छ ,यद्यपि यसको निष्पक्ष फैसला भने मंसिर ४ मा जनताको अभिमतले नै गर्ने छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation