अबको प्रधानमन्त्री को बन्ने भन्नेमा देउवा र प्रचण्डबीच विवाद हुन्छ : ओली

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनभित्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अबको प्रधानमन्त्रीको विषयलाई लिएर विवाद हुने जिकिर गर्नुभएको छ ।

आज मङ्गलवार पोखरामा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनलाई कलह, अस्थिरता र झमेलाको संज्ञा दिनुभयो । गठबन्धनका ६ वटा पार्टी ६ तर्फ मुख गरेर फर्किएको उहाँको भनाइ थियो ।

शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुन्छु भन्दा प्रचण्ड झस्किएको बताउँदै गठबन्धनलाई आफ्नो प्रधानमन्त्री को हो भन्ने नै थाहा नभएको अध्यक्ष ओलीले उल्लेख गर्नुभयो । ‘कांग्रेसका थुप्रा मान्छेले आफू प्रधानमन्त्री भनेका छन्, माओवादीकाले आफू भनेका छन् । विभिन्न पार्टीले प्रधानमन्त्री आ–आफ्ना तोकेका छन्’, उहाँले भन्नुभयो, ‘गठबन्धनको प्रधानमन्त्री को हो ? घोषणपत्र के हो रु केही छैन ।’
अध्यक्ष ओलीले मङ्सिर ४ गतेको चुनावमा एमालेले एकल बहुमत ल्याउने दाबी पनि गर्नुभयो । विभिन्न सर्वेक्षणका नाममा गठबन्धनले एमालेलाई कमजोर देखाउन खोजेको भए पनि आफ्नो पार्टीले एकल बहुमत ल्याएर सरकार बनाउने उहाँको दाबी थियो । एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरूलाई सरकारमा सामेल गर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले गठबन्धनको घोषणापत्रलाई ‘कर्मकाण्ड’ को संज्ञा दिनुभयो । देशलाई विकासको बाटोमा लैजान राष्ट्रिय शक्तिको आवश्यकता रहेको उहाँले बताउनुभयो । गठबन्धनलाई परमादेशले बनेको सरकार बताउँदै उहाँले सरकार बनाउने नाममा संविधान कुल्चिएको आरोप पनि लगाउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation