काठमाडौंमा मत नै नभई उठेका माओवादी उम्मेदवारको बिजोग

काठमाडौं । काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार नराम्रोसँग हारेका छन्।

क्षेत्र नम्बर २ मा ओनसरी घर्ती, काठमाडौं ७ मा मानुषी यमी भट्टराई, क्षेत्र नम्बर ९ मा कल्पना धमला र क्षेत्र नम्बर १० मा अञ्जना विशंखेले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका थिए।

यसबाहेक क्षेत्र नम्बर ३ मा माओवादीका बद्री बजगाईंले उम्मेदवारी दिए पनि पार्टी निर्देशनपछि उनले उम्मेदवारी निस्क्रिय बनाएका थिए। यहाँ कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन्।

माओवादीले उम्मेदवारी दिएपछि क्षेत्र नम्बर १० मा कांग्रेस(माओवादी पनि मित्रवत् प्रतिस्पर्धा भएको थियो। यहाँ कांग्रेसका राजन केसी जिते। उनी क्षेत्र नम्बर १० बाट लगातार सांसद जितिरहेका छन्।

काठमाडौंमा उम्मेदवारी दिएका माओवादीका नेताहरूले यति कम मत ल्याए कि उनीहरू निकटतम् प्रतिस्पर्धी पनि बन्न सकेनन्। किनभने काठमाडौंमा उनीहरूको मत नै थिएन। गएको स्थानीय तहको चुनावमा काठमाडौंका १० निर्वाचन क्षेत्रमा पर्ने सबै वडा गरेर माओवादीका उम्मेदवारहरूले जम्मा १६ हजार ७ सय ९१ मत मात्र ल्याएका थिए। यसरी कुनै पनि निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा आउन सक्ने मत माओवादीसँग थिएन। माओवादी केन्द्रले काठमाडौंमा उम्मेदवार पाउनै पर्ने अडान लिएपछि ३ क्षेत्रमा माओवादीका उम्मेदवार नै गठबन्धनका उम्मेदवार बने। अन्तिम चुनाव परिणाममा भने माओवादी उम्मेदवारको काठमाडौंमा फेरि एक पटक बिजोग भएको छ।

उदाहरणका लागि माओवादी केन्द्रले सत्ता गठबन्धनसँग अडान लिएर कठमाडौं(२ मा आफ्नो उम्मेदवार उठायो। जबकी त्यहाँ माओवादीले ३ हजार १ सय ३१ मत पाएको थियो।

स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमालेका वडाध्यक्षहरूले १७ हजार ३ सय २५ मत प्राप्त गरेका थिए। कांग्रेसले १४ हजार १ सय २८, नेकपा (एकीकृत समाजवादी)ले ८ हजार ७४, राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत पाएको थियो।

काठमाडौं–२ मा स्थानीय तहको मत परिणामअनुसार एमाले सबभन्दा ठूलो दल थियो। तर सत्ता गठबन्धनको मत जोड्दा एमालेभन्दा धेरै थियो। काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम पहिलो, एमालेका मणिराम फुयाल दोस्रो र राप्रपाकी कुन्तीदेवी पोखरेल तेस्रो भएका छन्। ओनसरी घर्ती चौथो स्थानमा रहँदै पराजित भएकी हुन्।

क्षेत्र नम्बर ७ मा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराई माओवादीबाट उम्मेदवार थिइन्। उनी सत्ता गठबन्धनकै साझा उम्मेदवार थिइन्। तर मानुषी यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइन्। पराजुलीले ८७४३ मतसहित जित्दा मानुषीले जम्मा ६०६३ मत मात्रै ल्याइन्। यहाँ एमालेका श्यामकुमार घिमिरे ६८०० मत ल्याउँदै दोस्रो भएका थिए।

काठमाडौं ७ मा स्थानीय चुनावको मत हेर्दा माओवादी एकदमै कमजोर थियो। स्थानीय तहमा यस क्षेत्रका वडाहरूको मत जोड्दा कांग्रेसले १४ हजार १ सय ६७ मत पाएको छ।

नेकपा एमालेले १२ हजार २ सय २ मत ल्याएको छ। तेस्रोमा रहेको एकीकृत समाजवादीले ३ हजार ८ सय ३९ मत ल्याएको छ। राप्रपाले २ हजार २७ र माओवादी केन्द्रले ५ सय ७६ मत ल्याएको थियो। जम्मा ५ सय ७६ मत ल्याएको माओवादीका उम्मेदवार मानुषीले ६ हजार भन्दा धेरै मत ल्याएकी छिन्।

यस्तै काठमाडौं ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भए। यहाँ माओवादीकी कल्पना धमला सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिइन्। तर उनी पराजित भइन्। त्यहाँ वडा तहमा माओवादीको मत जम्मा ६ सय मात्र थियो।

श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए। माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत मात्रै ल्याइन्।

स्थानीय चुनावको मतअनुसार भने काठमाडौं ९ मा कांग्रेस अगाडि थियो। स्थानीय तहमा पर्ने वडाहरूमा कांग्रेसले १९ हजार ९ सय १६ मत ल्याएको छ भने एमालेले १९ हजार २ सय ८२ ल्याएको छ। राप्रपाले २ हजार २ सय १ मत छ। माओवादी केन्द्रले ६ सय ९५ र नेकपा एकीकृत समाजवादीले ४ सय ६५ मत ल्याएका थिए।

काठमाडौं १० मा कांग्रेसका राजन केसी निर्वाचित भए। केसीले १४ हजार ४ सय ५८ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत ल्याएका छन्। माओवादी केन्द्रकी उम्मेदवार अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेकी थिइन्।

काठमाडौं क्षेत्र नम्बर १० मा पर्ने स्थानीय तहका वडाहरूको मतलाई आधार मान्दा नेपाली कांग्रेस एमालेभन्दा धेरै अगाडि थियो। कांग्रेसले २४ हजार ६ सय ७५ मत ल्याएको छ भने एमालेले जम्मा १८ हजार ८ सय ३८ मत ल्याएको थियो। माओवादी केन्द्रले ४ हजार ९ सय ४२, राप्रपाले २ हजार ४ सय ९६ र एकीकृत समाजवादीले १ हजार ३ सय ४२ मत ल्याएको थियो। यहाँ माओवादी उम्मेदवार विशंखेले स्थानीय चुनावमा माओवादी वडाध्यक्षका उम्मेदवारले ल्याएकोभन्दा पनि कम मत ल्याएकी छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation