माओवादी महासचिव देव गुरूङ पराजित

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका छन्। उनलाई नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङले लमजुङमा पराजित गरेका हुन्। योसँगै गुरूङ चुनाव हार्ने माओवादी केन्द्रका सबभन्दा हेभिवेट नेतामा दर्ज भएका छन्।

माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६३ सालमा गुरूङ अन्तरिम संसदबाट संसदीय राजनीतिमा लागेका थिए। उनले २०६४ मा भएको पहिलो संविधानसभामा मनाङबाट जितेका थिए। २०७० को दोस्रो संविधानसभामा भने मोहन वैद्य नेतृत्वको माओवादी पार्टीमा सहभागी भएका कारण उनले चुनाव बहिष्कार गरेका थिए।

प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएपछि उनले २०७४ को निर्वाचन लमजुङबाट जिते। २०७४ मा बाम गठबन्धन भएका कारण पृथ्बीसुब्बा गुरूङ प्रदेशबाट चुनाव लड्दै मुख्यमन्त्री बनेका थिए।

गुरूङ २०७४ को प्रतिनिधिसभामा पहिले नेकपा र दल विभाजनपछि माओवादीका प्रमुख सचेतक थिए। पराजित भएका गुरूङ २०६३ सालमा स्थानीय विकास मन्त्री र २०६५ सालमा कानुनमन्त्री बनेका थिए।

गत भदौमा नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठले पदाधिकारी चयन गर्दा प्रचण्डले देव गुरूङलाई महासचिव बनाएका थिए। माओवादी केन्द्रबाट महासचिवका आकांक्षी वर्षमान पुन र जनार्दन शर्मालाई पन्छाएर प्रचण्डले गुरूङलाई महासचिव बनाएका थिए। पछिल्लो समय संसदीय राजनीतिमा प्रचण्डको ुएस(म्यानु का रुपमा गुरूङले संसदमा काम गर्दै आएका थिए।

संसदमा सबभन्दा धेरै अमेरिकी सहयोग परियोजनाको विरोध गरेका देव गुरूङले प्रचण्डकै निर्देशनमा एमसिसी परियोजना पास गर्न संसदमा भूमिका खेलका थिए। फलस्वरूप उनलाई प्रचण्डले महासचिव बनाएका थिए।

लमजुङमा सत्ता गठबन्धन भए पनि त्यसको लाभ गुरूङले प्राप्त गर्न असफल भएका छन्। देव गुरुङले मंसिर ४ गते भएको निर्वाचनमा ३१ हजार ७ सय ८१ मत प्राप्त गरे भने विजयी पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरे।

देव गुरूङलाई पराजित गरेका पृथ्वीसुब्बा गुरूङ २०७४ को निर्वाचपछि तीन वर्षसम्म गण्डकीका मुख्यमन्त्री थिए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा जित हात पारेका गुरूङ २०७० सालमा पराजित भएका थिए। त्यसपछि २०७४ मा उनले प्रदेशको चुनाव लडेका थिए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation