उपकार अनलाईन, सैनामैना ।
उपभोक्ता समितिले बर्षेनी कति बजेट खर्च गर्छन्, कुनकुन काम गर्छन्, कस्ता कामहरू गरे भन्ने खर्च र कामको अभिलेख नहुँदा पारदर्शिता र जवाफदेहितामा बर्षेनी प्रश्न उठ्दै आएको हुन्छ, तर रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर १, मा भने उपभोक्ता समितिले एक उदाहरणीय काम गर्दै उपभोक्ता समिती मार्फत काम गरि बचेको रकम एक कार्यक्रमको आयोजना गरेर फिर्ता गरेको छ ।
आर्थिक बर्ष २०७९/८० का लागि वडा नम्बर १ मा रहेको पाँच मिटर भन्दा तल बाटो स्तर उन्नती ३५ लाख र ५ मिटर भन्दा माथी बाटो स्तरउन्नती ४२ लाख गरि कुल ७७ लाख रकम वडा मार्फत बजेट परेको थियो । उक्त बजेट उपभोक्ता समितिले स्टेमिट अनुसार काम गरि बचत ७ लाख ५७ हजार रुपैया सैनामैना नगरपालिका वडा नम्वर १ का अध्यक्ष भुवन क्षेत्री मार्फत नगरपालिकालाइ नै फिर्ता गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष नारायण पाण्डे र फटिक के.सी सचिव रोहित खनाल र सुरज खनाल सहित उक्त रकम वडा नम्बर १ का वडा अध्यक्ष भुवन क्षेत्रीलाइ हस्तान्तरण गरेका हुन । मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गरि सुशासनको प्रत्याभूति दिन सफल सैनामैना १ नमुना वडा बनेको छ । उपभोक्ता समिति बनाएर मनपरी खर्च गर्ने क्रम मौलाएको बेला यो सार्वजनिक खरीद व्यवस्थापनमा सुशासन खोजिरहेकाहरूका लागि सुखद् कुरा हो ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले उपभोक्ता समितिले गरेका कामहरुमा पार्दशिता हुन्छ भन्ने उदाहरण सैनामैना १ बाट सुरु भएको भन्दै अव अन्य वडाले पनि यसको सिको गर्न जरुरी रहेको बताए । जनताको सेवा गर्न खटिएका हामी जनताको हितको हितमा काम गर्ने बतादै उपभोक्ता समितीका सम्पुर्णलाई धन्यवाद दिदै राम्रो कामको आफु सधै प्रशंसक भएको भन्दै त्यो रकमा थप आठ लाख रुपयै थपेर वडालाई दिने घोषणा गरे । यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष भुवन क्षेत्रीले मितव्ययिता, गुणस्तरीयता वा दिगोपन अभिवृद्धिको उद्देश्यबाट निर्माणजन्य काम गर्न कानूनले दिएको सुविधाका आधारमा बनेका उपभोक्ता समितिले यस्तै काम गर्दै गए भ्रष्टाचार रहित समाजको सपना पूरा हुने भन्दै उपभोक्त समितिको मुक्तकन्ठले प्रशंसा गरे । राजनीतिक र प्रशासनिक नेतृत्वसँग साँठगाँठ गरेर उपभोक्ता समितिलाई अनियमित उपार्जनको स्रोत बनाउने क्रम पछिल्ला वर्षहरूमा झांगिएको बेला यस्तो उदाहरणीय काम गरेर देखाउन पाउँदा साच्चै जनताको प्रतिनिधि भएको महसुस भएको क्षेत्रीको भनाइ छ ।
कार्यक्रमा जिल्ला समन्वय समितिका सदस्य मञ्जु परियार, वडा सदस्य प्रेमलाल भुसाल, नर बहादुर सुनार, राजनैतिक दलका प्रतिनिधि कमल प्रसाद पोखरेल, सुर्य विक्रम राना, राज बहादुर क्षेत्रि, तुलसि कुमार भूषाल लगायत करिव एक सय बढी वडावासीको उपस्थीतिमा वडा सदस्य प्रेमलाल भुसालको स्वागत तथा वडा सचिव कमल प्रसाद पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।