लुम्बिनी सरकार : कांग्रेस-माओवादीको विवादका कारण विस्तार हुन सकेन

बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तार लम्बिएको छ । लामो समयदेखिको कांग्रेस र माओवादीबिच सरकारमा मन्त्री थप्ने विषयमा भएको विवाद मिलाउन माओवादीको केन्द्रीय नेता वर्षमान पुनकै सहभागितामा लुम्बिनीमा बैठक बसेको थियो ।

बैठकममा कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले मन्त्रालय थप्ने पुरानै अडान नछोडेपछि माओवादी कांग्रेसको अडानमा असन्तुष्ट बनेको छ ।

सोमबार माओवादीका उपमहासचिव वर्षमान पुन, लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा, कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सभापति अमरसिंह पुनसहितका नेताहरुले छलफल गरेका थिए ।

कांग्रेसका सभापति पुनले पार्टीको मन्त्रालय नथप्ने अडानबाटपछि नहटेको र माओवादीले पूर्वसहमति अनुसारका मन्त्रालय पाउनुपर्ने अडान नछोडेपछि बैठक निष्कर्षविहीन भएको कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।

६ महिनादेखि माओवादीबाट मन्त्री बन्ने नेताहरू कांग्रेसका कारण रोकिएको भन्दै माओवादीले कांग्रेसलाई निरन्तर दबाब दिँदै आएको छ । माओवादीले यसअघिको सहमतिअनुसार तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर अहिले माओवादीबाट धनबहादुर मास्की मात्र सरकारमा अर्थमन्त्रीका रुपमा सहभागी छन् ।

सरकार बिस्तारबारे बसेको नेताहरूको बैठकमा माओवादीले आफ्नो अडान नछोडेपछि सहमति नजुटेको कांग्रेस सभापति अमरसिंह पुनले बताए । ‘मन्त्रालय थपेर जाने विषयमा हामी सहमत भएनौं, उहाँहरू पुरानै दाबीबाट ब्याक नभएपछि केही टुंगो लागेन,’ उनले भने, ‘अहिलेको अवस्थामा मन्त्रालय थप्ने कुरामा हाम्रो पूर्ण असहमति नै हो ।’

लुम्बिनीमा अहिले ७ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघिको सहमतिअनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हो । तर बाँकी ३ मन्त्रालय मात्रै रहेकाले उनीहरूलाई भागबन्डा पुर्‍याउन २ मन्त्रालय थप्नुपर्छ । कांग्रेससँग सरकार गठनका बेला ३ मन्त्रालय पाउने सहमतिपछि माओवादीले धनबहादुर मास्की, रोल्पाका दीपेन्द्र पुन र बाँकेकी कृष्णा केसीलाई मन्त्रीमा सिफारिस गरेको थियो । त्यही सहमतिअनुसार माओवादीबाट मास्की अर्थ मन्त्री बनेका हुन् । कांग्रेसबाट दाङकै राजु खनाल स्वास्थ्यमन्त्री बनेका छन् ।

सोमबार देउखुरीमै बसेको बैठक र यसअघि काठमाडौंमा शीर्ष नेताहरुसँगको बैठकबाटसमेत सहमति जुटाउन नसकेपछि सरकार बिस्तार तत्कालका लागि रोकिएको कांग्रेसले जनाएको छ । लुम्बिनीमा रहेका १० दलमध्ये ८ दल मिलेर वैशाख १४ मा सरकार बनेको थियो । सरकारमा साना दलले एकरएक मन्त्रालय लिएपछि ठूला दल कांग्रेस र माओवादी अप्ठ्यारोमा परेका हुन् । मुख्यमन्त्री चौधरीले सरकार विस्तारका लागि दुवै दलसँग सहमतिको प्रयास भईरहेको र केही दिनमा सरकार विस्तार हुने बताए ।

अहिले लुम्बिनी सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसहित २, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एकरएक जना मन्त्री रहेका छन् । एकरएक सांसद रहेका नेकपा एस र जनमोर्चालाई विषयगत समितिमा जिम्मेवारी दिएर मिलाउने तयारी छ । एमाले प्रतिपक्षमा र राप्रपा पनि सरकार बाहिर छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation