बेलहियाबाट पछिल्लो सात महिनामा पाँच अर्ब ६७ करोड बढिको नेपाली उत्पादन निर्यात

भैरहवा । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट सिमेन्टदेखि अदुवासम्म निर्यात हुने क्रम बढेको छ । अदुवा धेरै पहिलेदेखि निर्यात हुँदै आएपनि सिमेन्ट निर्यात हुन थालेको धेरै भएको छैन ।

पछिल्लो दुई वर्षयता सिमेन्ट निर्यात हुन थालेको हो । पछिल्लो समय रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लामा रहेका उद्योगबाट उत्पादित सिमेन्ट निर्यात भइरहेको छ । यसबाहेक पाल्पा, प्युठान लगायतका जिल्लामा उत्पादित अदुवा यही भन्सार नाका हुँदै भारत लगायत तेस्रो मुलुक निर्यात भइरहेको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा पाँच अर्ब ६७ करोड ६८ लाख रुपियाँका नेपाली उत्पादन निर्यात भएका छन् । चालु वर्षको माघ महिनाको अवधिमा यो बेलहिया नाकाबाट सेन्थेटिक यार्न सबैभन्दा बढी निर्यात भएको तथ्याङ्कमा देखिन्छ । खैरो सिमेन्ट निर्यात दोस्रो नम्बरमा छ । विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठो लगायतका जडीबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत यो नाकाबाट निर्यात हुने गरेको देखिएको छ ।

भन्सार कार्यालय भैरहवाबाट चालु आर्थिक वर्षमा एक अर्ब ७७ करोड ५३ लाखको सेन्थेटिक यार्न निर्यात भएको हो । यस्तै, सिमेन्ट ९१ करोड ३२ लाख रुपियाँ बराबरको, क्लिङ्कर ७५ करोड ३६ लाख बराबरको निर्यात भएको छ । केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततर्फ निर्यात हुन थालेपछि लगानीकर्तालाई सन्तोष मिलेको छ ।

अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्टले आफ्ना उत्पादन भारततर्फ निर्यात गरिरहेका छन् । सिमेन्टको आन्तरिक खपत कम भइरहेकाबेला भारत निकासीमा देखिएको सुधारले उद्योगीमा थोरै भए पनि राहत महसुस भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो । “नेपालमा निर्माण क्षेत्र ठप्प जस्तै छ, ठेकेदारले भुक्तानी नपाउँदा र बजेट खर्च न्यून हुँदा निर्माणको काम खासै हुन सकेको छैन, यस्तो बेला भारत निर्यातमा देखिएको सकारात्मक प्रभावले पक्कै पनि उद्योगीलाई केही खुसी दिएको छ”, उहाँले भन्नुभयो ।

नाकाबाट मोटरसाइकल, कार भ्यान, पेट्रोल, एलपी ग्यास, मोबाइल, मार्बल जस्ता वस्तु आयात भइरहेका छन् । भैरहवा भन्सारले सात महिनामा लक्ष्यको ३५.६३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस कार्यालयले ४५ अर्ब ५४ करोड १९ लाख २५ हजार राजस्व सङ्कलन गरेको हो । कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा एक खर्ब २७ अर्ब तीन करोड ६६ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य पूरा गर्न भन्सार कार्यालयले अबको पाँच महिनामा ८२ अर्ब २९ करोड ४७ लाख ५४ हजार राजस्व उठाउनु पर्ने छ ।

भन्सार कार्यालयले साउन महिनामा ६ अर्ब ४९ करोड पाँच लाख ३१ हजार, भदौमा ६ अर्ब ८६ करोड ५१ लाख ३३ हजार, असोजमा नौ अर्ब तीन करोड ८६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार कात्तिकमा चार अर्ब ४९ करोड चार लाख ३९ हजार, मङ्सिरमा ६ अर्ब ६ करोड तीन लाख ४४ हजार, पुसमा ६ अर्ब १९ करोड १७ लाख १३ हजार र माघ महिनामा ६ अर्ब ४० करोड ६ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । -गोरखापत्र अनलाइन 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation