रोल्पाको माडीमा आगलागीमा परि १ जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका(५ भावाङमा एक घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु भएको छ। प्रहरीले ७५ वर्षीया हरिकला घर्तीको आगलागीबाट ज्यान गएको जनाएको छ।

मंगलबार बेलुकी ४स्४५ बजे अचानक भावाङको कचरिकोटस्थित वृद्धाको घरमा आगलागी भएको थियो। माटो, ढुंगा र टिनले बनाइएको उनको २ तलाको घरमा आगलागी हुँदा उनी एक्लै भएको प्रहरीले जनाएको छ। घरमा माइलो छोरासँग बस्दै आएको तर त्यसबेला माइलो छोरा काम गर्न बाहिर निस्केको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनका अन्य तीन छोरा भने अन्यत्र बस्ने गरेका छन्। घरको तल्लो तलाबाट सल्केको आगोबाट जलेर माथिल्लो तलामा रहेकी वृद्धाको ज्यान गएको हो।

घरमा पशु चौपाया न भएको र आगलागी तत्काल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए। बृद्धाको भने शरीरका विभिन्न भागमा आगोले क्षति पुर्‍याएको थियो। घटनाको बारेमा जानकारी पाएपछि माडी गाउँपालिकाको इलाका प्रहरी कार्यालय घर्तीगाउँस्थित चौकीबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा प्रहरी अनुसन्धानका लागि खटिएको थियो।

टोलीले विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम नारायण गुप्ताले जनाए । आगलागी नियन्त्रणमा भने स्थानीय सँगै भावाङ प्रहरी चौकीबाट प्रहरी खटिएका थिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation