सैनामैनामा जनताले तिरेको करको तथ्याङ्क छैन

सैनामैना ।  रुपन्देहीको सैनामैना नगरपालिकामा जनताले तिरेको करको तथ्याङ्कनै नभएको पाइएको छ । नगरपालिकाले नगरमा लिइने विभिन्न प्रकारका राजस्व तथा कर संकलनका लागि लाखौं लगानी गरेर एउटा निजि कम्पनीको सफ्टवयर मार्फत अनलाईन माध्यमबाट सेवा दिदै आएको थियो । तर, अहिले नगरपालिकाले उक्त कम्पनीको सफ्टवयर हटाएर आर्थिक वर्ष २०८१/८२ देेेखि सरकारले नै सञ्चालनमा ल्याएकाे सफ्टवयर सूत्र प्रणाली मार्फत सबै राजस्व तथा कर सम्बन्धि सेवा र कारोवार गर्न  थालेकाे छ । निजि सेवा प्रदायक कम्पनीका सफ्टवयर संचालनमा रोक लागे संगै अहिले पुरानाे डाटा नगरपालिका संग नभएकाे कर्मचारीहरू बताउँछन् ।

आर्थिक वर्ष २०८१/८२ देखि सैनामैना नगरपालिकाले सुत्र प्रणाली लागु गरेपछि निजी क्षेत्रवाट सेवा दिदै आएको साङ्ग्रीला सफ्टवयरले अहिले सैनामैनाको कुनै पनि डाटा दिन मानेको छैन । जस कारण कुन सेवाग्राहीले कहिले देखि सैनामैना नगरपालिकामा कर तिरेको छ वा छैन भन्ने यकिन हुन सकेको छैन ।

सैनामैना नगरपालिकाको लागि यो राजश्व प्रणालीमा आएको निकै ठुलो घाटा हो भने आम सैनामैना बासीका लागि सैनामैना नगरपालिकाले गरेको गल्तीका कारण भोग्नुपरेको ठुलो आर्थिक भार हो । पुरानाे सफ्टवयर मार्फत नगरले मालपोत कर, सिफारिस कर, भूमिकर लगायतका कर उठाउदै आएको थियो । यहि प्रणालि मार्फत कारोवार गरेको सैनामैना नगरपालिका अहिले रित्तो हात भएको छ । नगरपालिकासंग अहिले सैनामैनाको भूमि करको कुनै पनि डाटा छैन । नत उक्त कम्पनीसंग डाटा माग्नको लागि पहल गरेको छ ।

यतिसम्म कि नगरपालिकाले वडामा भूमिकर बुझाउन आएका सेवाग्राही संग उल्टो बिगतमा बुझाएको रसिद मागेको र सो रसिद नभए विगत ५/६ वर्ष अगाडि देखिकाे कर नबुझाएको भन्दै जनतासंग फेरि कर उठाएको छ । यसरी एउटा स्थानीय तहले जनतामाथि गरेको यो निकै ठुलो आर्थिक अपराध हो ।

नगरपालिकाले सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन शिर्षकमा विगतका वर्षहरूमा लाखाैं रकम विनियोजन गरि खर्च गर्दै आएकाे छ । यस आर्थिक वर्षमा मात्र नगरपालिकाले सूचना तथा सफ्टवेयर संचालन खर्चमा १५ लाख रकम विनियोजन गरेकाे छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation