उपकार अनलाइन, सैनामैना ।
सैनामैना नगरपालिका–९, पिपलडाँडामा रहेको स्मार्ट रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थालेको छ । निर्माण सम्पन्न भएको वर्षौ वितिसक्दा पनि सञ्चालन गर्न नसक्दा अहिले रिफ्रेस सेन्टरका संरचनाहरू भत्किन थालेका छन्।
सेन्टर लुम्बिनी प्रदेश सरकारको लगानीमा साढे तीन करोड रुपैयाँ लागतमा निर्माण भएको हो। यसमा लामो दूरीका सवारी चालक र यात्रुहरूका लागि आराम गर्ने व्यवस्था, अत्याधुनिक शौचालय, सावर रुम, पार्किङ स्थल, कार वासिङ सेन्टर, चार्जिङ स्टेशन, ड्राइभर रुम लगायतका सुविधाहरू समावेश छन् ।
रिफ्रेस सेन्टरका संरचनाहरू भत्किन थालेपछि सेन्टरको निर्माण गुणस्तरप्रति प्रश्न उठेको छ। यसले परियोजनाको दीर्घकालीन स्थायित्व र सञ्चालनमा असर पर्ने चिन्ता बढाएको छ।
सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माले रिफ्रेस सेन्टर निर्माण सम्पन्न भएपछि नगरपालिकालाई हस्तान्तरण गर्ने भनिए पनि रिफ्रेस सेन्टर सञ्चालनमा विलम्ब भएको बताए। उनले सञ्चालन कार्यविधि नभएकै कारण नगरपालिकाले रिफ्रेस सेन्टरको काम गर्न सक्ने अवस्था नरहेको बताउँदै प्रदेशले हस्तान्तरण गरे मात्रै आफूहरूले चलाउन सक्ने बताए ।
चार वर्षअघि २०७७ साल मङ्सिर १२ गते शिलान्यास गरिएको स्मार्ट रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै जीर्ण बनेको छ भने पर्खाल भत्किएको छ ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा बनेको रिफ्रेस सेन्टरको वरिपरि लगाइएको पर्खाल ठाउँ ठाउँमा चिरा परेर भत्किन थालेको छ भने चौरभरि बिरुवा उम्रिएर जङ्गल बनेको छ ।
लामो दुरीका सवारीचालक र यात्रुलाई विश्राम र आरामका लागि प्रदेशका पाँच वटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा रुपन्देहीको सैनामैनामा रिफ्रेस सेन्टर बनाउन सुरु गरिएको हो । रिफ्रेस सेन्टर निर्माणका लागि पहिलो चरणको काम गर्न तीन करोड ५५ लाख ७१ हजारमा ठेक्का सम्झौता भएको थियो । रिफ्रेस सेन्टरभित्र पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेसनलगायतका काम गर्न बाँकी रहेको छ ।
रिफ्रेस सेन्टरको पहिलो चरणको काम सम्पन्न भएको र दोस्रो चरणको काम गर्न रकम अभावका कारण समस्या परेको रिफ्रेस सेन्टरको रेखदेखको जिम्मा पाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ ।