सैनामैना । सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सैनामैना नगरपालिकाको सभाहलमा नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न १७ औं नगरसभाको बैठकबाट उपप्रमुख विना रानाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वधार विकासलाई प्राथमिकता दिदैँ बजेट सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक गरिएको बजेटमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चालुतर्फ ५६ करोड ७९ लाख ६० हजार ५ सय अर्थत् ४२.१२ प्रतिशत र पुँजीगततर्फ ७८ करोड ३ लाख ८८ हजार ५ सय अर्थत् ५७.८८ प्रतिशतको बजेट प्रस्तुत गरिएको छ ।
सैनामैना समृद्धिको आधार : उत्पादन, पर्यटन र पूर्वाधार भन्ने नारालाई साकार पर्ने उद्देश्यले प्रस्तुत बजेटमा आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सैनामैनामा वर्षौदेखि बसोबस गर्दै आएका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गाधानी दर्ता प्रमाण–पत्र वितरण गर्न र बाँकी जग्गा नापजाँचको लागि १ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै कृषि तथा सिचाई क्षेत्रतर्फ १ करोड ५२ लाख ४७ हजार, पशु विकासतर्फ १ करोड, उद्योग श्रम, रोजगार र सहकारीतर्फ ४८ लाख ८० हजार, सामाजिक विकास तर्फ ३७ करोड ५९ लाख २९ हजार ५ सय, शिक्षा खेलकुद तथा युवातर्फ २७ करोड ३८ लाख, संस्कृति संरक्षण तथा पर्यटन तर्फ २२ लाख, पूर्वधार विकास तर्फ ७४ करोड ९८ लाख ८२ हजार, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ २ करोड १६ लाख बजेट विनियोजन गरिएको छ ।
उपप्रमुख रानाले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक वर्ष ०८२/०८३ का लागि सैनामैनाले आन्तरीक स्रोत तर्फ रु. १२ करोड १६ लाख ११ हजार १ सय ६० रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ ।
बजेटमा संघीय सरकार वित्तीय समानीकरण अनुदान १२ करोड ७५ लाख, संघीय सरकार राजश्व बाँडफाँड रु. १४ करोड ३५ लाख ९० हजार ५ सय ७, संघीय सरकार तर्फ सशर्त अनुदान रु ७३ करोड ७२ लाख, संघीय सरकार समपुरक अनुदान रु. १ करोड ५० लाख, संघीय सरकार विशेष अनुदान रु. १ करोड ६४ लाख अनुमान गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ८३ लाख ९४ हजार, प्रदेश सरकार शसर्त अनुदान रु. १ करोड ६५ लाख, प्रदेश सरकार राजश्व बाँडफाँड रु १ करोड ६५ लाख ३६ हजार, मालपोत रजिस्ट्रेशन शुल्क रु ४ करोड २५ लाख, प्रदेश समपुरक अनुदान रु १ करोड २० लाख र बचत ७ करोड ३९ लाख १७ हजार ३ सय ३३ रुपैया रहने नगरपालिकाले जनाएको छ ।
प्रस्तुत बजेटमा सैनामैना नगर अस्पताललाई थप जनशक्ति र स्रोत साधनको व्यवस्था मिलाई अस्पतालबाट सेवा सञ्चालनका लागि बजेट विनियोजन भएको छ ।
“कृषिको आधारः सिंचाइमा सुधार“ भन्ने नारालाई साकार पार्न कृषिमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि ७५% अनुदानको व्यवस्था, तरकारीको बालीको नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरिएको छ ।
“उत्पादन साथमा, अनुदान हातमा“ भन्ने नारालाई आत्मसात् गर्दै दूध उत्पादक किसानलाई प्रतिलिटर रु. १ र मासु उत्पादन गर्ने किसानलाई प्रति के.जी. रु. २० का दरले उत्पादनको आधारमा प्रोत्साहन सहयोग अनुदान उपलव्ध गराउन रु. २८ लाख विनियोजन भएको छ ।
“समग्र शिक्षाको सुधार, बालबालिका विद्यालय प्रवेशको आधार” भन्ने नारालाई साकार पार्न सामुदायिक विद्यालयको शैक्षिक पुर्वाधार विकास गर्न २ करोड ५५ लाख विनियोजन भएको उल्लेख छ ।
महिलाहरुलाई स्वरोजगार र उद्यमी बनाउन महिलासँग उपप्रमुख कार्यक्रम अन्र्तगत तालिम प्राप्त अति बिपन्न महिलाहरुलाई ब्यवसायिक बनाउन र ब्यवसायी महिलाहरुद्वारा उत्पादन गरिएका वस्तुहरुको बजारीकरण गर्न सैनामैना नगरपालिका वडा नं. १० मा निर्माणाधिन कोसेली घर निर्माण तथा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।
आदिवासी थारु समुदायको पहिचान, संस्कृति र जीवनशैलीलाई संरक्षण गर्दै, समुदायमा भौतिक पूर्वाधार विकासलाई वातावरणमैत्री रूपमा विस्तार गर्न “नमूना उज्यालो थारु गाउँ“ कार्यक्रमका लागि १ करोड विनियोजन भएको छ ।
“घुमौँ सैनामैना, रमौं सैनामैना“ भ्रमण बर्ष २०८२ अभियान सञ्चालन गर्न सैनामैनामा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रलाई सूचिकरण गरी प्रचार प्रसार गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको उल्लेख छ ।
नगरको भू–जल सतहलाई स्थायित्व ल्याउन, वर्षाको पानी पुनर्भरण प्रणाली प्रवद्र्धन गर्न र वातावरणीय सन्तुलन कायम राख्न “एक वडा एक पोखरी“ कार्यक्रम र लेडुवा पोखरी र मेघाहवा ताल थप पुर्वाधार निर्माण तथा संरक्षणका लागि रु. ३० लाख विनियोजन गरेका छ ।
फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्न सैनामैना १० स्थित एकला पहाडमा अन्तर स्थानीय तह संयुक्त फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि प्राप्त भएको जग्गाको सट्टा भर्ना, रुख कटान, पहुँच मार्ग निर्माण र पुर्वाधार समेतका लागि बजेट विनियोजन प्रस्ताव गरिएको छ ।
यस्तै नगरपालिकाको ११ वटा वडालाई वडातह अन्र्तगत कुल ८ करोड ५७ लाख १८ हजार बजेट विनियोजन गरेको छ । जसमा वडा नं १ को लागि रु. १ करोड २ लाख ६१ हजार, वडा नं. २ को लागि रु. ६६ लाख ७१ हजार, वडा नं. ३ को लागि रु. ६७ लाख ९५ हजार, वडा नं. ४ को लागि रु. ८३ लाख ४२ हजार, वडा नं. ५ को लागि रु. ९० लाख ४३ हजार, वडा नं. ६ को लागि रु. ८२ लाख ७३ हजार, वडा नं. ७ को लागि रु. ६५ लाख, वडा नं. ८ को लागि रु. ६५ लाख, वडा नं. ९ को लागि रु. ६६ लाख ९९ हजार, वडा नं. १० को लागि रु. ८९ लाख ८६ हजार र वडा नं. ११ को लागि रु. ७६ लाख ४८ हजार बजेट विनियोजन गरिएको छ ।