
विमल गैरे, सैनामैना ।
लोकसंगीतको क्षेत्रमा आफुलाई समर्पित गर्दै आएकी गायिका शकुन्तला गैरेले हालै सार्वजनिक तीज गीत “माइत जाने बाटो” मार्फत फेरि एकपटक दर्शक श्रोताको मन जित्ने प्रयास गरेकी छिन् । चार बहिनी र दुई दाजुहरू मिलेर गाइएको यो गीत पारिवारिक आत्मीयता, मौलिक संस्कृति र तीजको सन्दर्भ बोकेको सन्देशमूलक सिर्जना हो।
गायिका गैरेले सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिँदै लेखेकी छिन् :
“नमस्कार, म कलाकार शकुन्तला गैरे। म एउटा सिक्दै गरेको विद्यार्थी हुँ। जानेर होस् या नजानेर, संस्कार र संस्कृतिभन्दा बाहिर गएर कहिल्यै लेख्न मन लागेन। जे छ, त्यो प्रकृति भित्र र संस्कृति भित्र नै छ। आजसम्म मैले लेखेका र गाएका सिर्जनाहरूलाई तपाईंहरूले अपार माया गरिदिनुभएकोमा धेरै आभार व्यक्त गर्दछु।”
उनको भनाइमा एक असली कलाकारले भ्युजको पछि लाग्ने भन्दा पनि मनको भाव र समाजप्रतिको उत्तरदायित्व बुझ्नुपर्छ भन्ने भावना झल्किन्छ।
“एउटा इमान्दार, असली कलाकार दुई छाक भोको त बस्न सक्छ,” उनी भन्छिन्, “तर गीत नगाई बस्न सक्दैन। त्यसैले मैले भ्युजभन्दा पनि माया बटुल्ने कोसिस गरेकी छु।”
“माइत जाने बाटो” गीतमा माइतीप्रतिको माया, स्नेह, भावनात्मक जीवनयात्रा र तीजको उल्लासपूर्ण तर गम्भीर पक्ष समेटिएको छ। गीतमा प्रयोग भएका शब्द र लयले श्रोता, दर्शकलाई गाउँघर, माइतीको आगन र तीजको माहोल सम्झाउने काम गर्छ।
यो गीत अहिले युट्युब तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ, जसमा दर्शक श्रोताको सकारात्मक प्रतिक्रिया आउन थालेको छ। सादगी, सत्यता र संस्कृति प्रतिको समर्पण नै शकुन्तला गैरेको सिर्जनाको विशेषता बन्न थालेको देखिन्छ।