सैनामैनामा ‘उद्यमी शिक्षा संगम २०८२’ सम्पन्न, शिक्षा र उद्यमशीलता जोड्ने प्रयास

उपकार अनलाइन, सैनामैना ।  सैनामैना नगरपालिका वडा नं.६ मा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसको आयोजनामा ‘सैनामैना उद्यमी शिक्षा संगम: २०८२’ भव्य रूपमा सम्पन्न भएको छ।

युवा विद्यार्थी, उद्यमी तथा सामाजिक कार्यकर्ताबीच ज्ञान र अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सैनामैनाका ३५ भन्दा बढी स्थानीय उद्यमीहरुले आफ्ना उत्पादनहरू प्रदर्शनीमा राखेका थिए भने ३०० बढी युवाहरूले उद्यमशीलता सम्बन्धी प्रत्यक्ष अनुभव सँगाले।

स्थानीय उत्पादनमा जोड दिन मेयरको आग्रह :

कार्यक्रमको उद्घाटन गर्दै सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले स्वदेशमै उद्यमशील बन्ने बाटो रोज्न युवाहरुलाई आग्रह गरे। उनले भने, “विदेशी खानपान र पहिरनको मोहले नेपाली उत्पादन र पहिचान कमजोर बनाएको छ। गाउँघरमै आधारित परम्परागत सीप र उत्पादनलाई आधुनिकता दिनु आवश्यक छ।”

उद्यमी र विद्यार्थी बीच प्रत्यक्ष सञ्जाल :

क्याम्पस प्रमुख हेमबहादुर थापाले विद्यार्थीलाई उद्यमीहरूसँग जोड्ने प्रयासलाई सफल भएको बताए। उनका अनुसार संगमले युवा विद्यार्थीलाई व्यवहारिक ज्ञान, प्रेरणा र आवश्यक सीप सिकाउने माध्यमको रूपमा भूमिका खेलेको छ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यदुलाल पन्थले कार्यक्रमले ‘सैद्धान्तिक शिक्षा मात्र नभई व्यवहारिक ज्ञान पनि कति आवश्यक छ’ भन्ने कुरा पुष्टि गरेको बताए। उनले भने, “आज हरेक घरमा विदेश जाने युवा पाइन्छ, तर त्यही युवालाई स्वदेशमै उद्यमसँग जोड्ने सम्भावना यो कार्यक्रममा देखिएको छ।”

डिजिटल युग र ग्रामीण उद्यम :

ई–ड्राइभ लुम्बिनी प्रदेश अध्यक्ष राजकुमार गुप्ताले डिजिटल युगमा उद्यमिताका सम्भावना, अवसर र चुनौतीबारे प्रकाश पारे। ‘गाउँको घर ईको फार्म हाउस’का पाल्पाका उद्यमी समुन्द्र घिमिरेले स्वदेशमै सम्भावनाको खानी रहेको उल्लेख गर्दै भने, “देश बनाउन युवा विदेश होइन, गाउँ फर्कनुपर्छ।”

विद्यार्थीहरूमा सकारात्मक प्रभाव :

प्लस टु, ब्याचलर तथा मास्टर्स तहमा अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै उद्यमशील सोच कसरी विकास गर्ने भन्नेबारे नयाँ दृष्टिकोण र व्यवहारिक ज्ञान सिकेका छन्। संगमले शैक्षिक संस्थाहरुलाई व्यवसायिक मार्गचित्र बनाउने दिशातर्फ लाग्न सघाउने अपेक्षा गरिएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation