
सैनामैना । रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामको यस वर्षको एक महिने श्रावणी मेला आज भव्य कार्यक्रमका साथ समापन भएको छ। धार्मिक आस्था र जनसहभागिताको अनुपम उदाहरण प्रस्तुत गर्दै साउन महिनाभरि सञ्चालन भएको यस मेलामा करोडौंको आर्थिक कारोबार र लाखौ भक्तजनको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले धामको बाँकी रहेको निर्माण कार्यलाई स्थानीय सरकारसँग समन्वय गरी छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस धामलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउने र विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरूलाई समेत आकर्षित गर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो।
विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेशको उपसभामुख माननीय मेनुका खाणले आध्यात्मिक र धार्मिक चिन्तनले मानिसको जीवनमा अनुशासन र प्रगति ल्याउने कुरामा जोड दिनुभयो। उहाँले धामको निर्माण कार्यका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो।
सैनामैनाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले देशकै उपप्रधान तथा अर्थमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको सहयोगमा बाँकी रहेको ५०५ कामले टुङ्गो पाउने विश्वास व्यक्त गर्नुका साथै स्थानीय सरकारले समेत यसलाई जति सक्दो चाँडो सम्पन्न गर्ने कुरा गर्नुभयो।
बोलबमको पौराणिक र धार्मिक इतिहास :
बोलबम यात्राको प्रचलन पौराणिक कालदेखि नै चलिआएको मानिन्छ। मान्यताअनुसार, भगवान शिवको प्रिय महिना साउनमा गंगा नदी वा अन्य पवित्र नदीको जल लिएर खाली खुट्टा बोलबम भन्दै शिव मन्दिरमा जल चढाउँदा ठूलो पुण्य प्राप्त हुन्छ। यसले व्यक्तिका सबै पाप मेटाई मनोकामना पूरा हुने विश्वास गरिन्छ। बोलबमको जयघोष गर्दा सकारात्मक ऊर्जाको सञ्चार हुने र भक्तजनहरूलाई यात्राको थकानबाट राहत मिल्ने पनि धार्मिक विश्वास छ।
सफल आयोजना र सम्मान :
धामका अध्यक्ष चित्रबहादुर कार्कीले सम्पूर्ण कार्यसमिति, सल्लाहकार, र शुभचिन्तकहरूको उत्कृष्ट कार्यशैलीका कारण यस वर्षको श्रावणी मेला अहिलेसम्मकै सबैभन्दा व्यवस्थित र सफल भएको बताउनुभयो। उहाँले एक महिनाभित्रै सम्पूर्ण आजीवन सदस्यहरूलाई बोलाएर प्रगति विवरण पेश गर्ने जानकारी दिनुभयो।
करिब एक लाख ५० हजार श्रद्धालु भक्तजनहरूले दर्शन गरेको कुरा आयोजकले जनाएको बोलबम धमका महासचिव गोपाल आचार्यले जानकारी दिनुभयो।
बोलबम धाम अध्यक्ष चित्रबहादुर कार्कीले दिएको जानकारी अनुसार, यस वर्षको साउन महिनामा रु। ४३ लाख ५० हजार रकम संकलन भएको छ। संकलित रकममध्ये करिब रु। ९ लाख खर्च भएको र बाँकी रु। ३५ लाख बचत भएको छ। उक्त बचत रकमको २० प्रतिशत अर्थात् रु ७ लाख अक्षय कोषमा राखिने धारणा व्यक्त गर्नुको छ। धामले यस वर्ष रु। ५१ लाख संकलन गर्ने लक्ष्य लिएको थियो।
असार २६ गतेदेखि सुरु भई आज साउन २४ गते समापन भएको यस एक महिने बोलबम जलयात्रा अवधिमा आर्थिक, भण्डारा र अन्य विभिन्न रूपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानपत्रले सम्मान गरिएको थियो। यस वर्ष सबैभन्दा बढी रु। ३ लाख चौरासी हजार चढाएर सहयोग गर्ने निर्मलराज ज्ञवालीलाई पनि सम्मान गरिएको छ, जो हाल जापानमा हुनुहुन्छ ।
कार्यक्रमको उद्घाटन स्वस्तिवाचनबाट गरिएको थियो। धामका वरिष्ठ उपाध्यक्ष दुलबहादुर थारुले सम्पूर्ण भक्तजनलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता धामका अध्यक्ष चित्रबहादुर कार्कीले गर्नुभएको थियो भने सञ्चालन धामका कार्यालय सचिव हरि शर्मा गौतमले गर्नुभएको थियो।