
विमल गैरे, सैनामैना ।
भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा फैलिएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ विमर्श र प्रश्न खडा गर्यो । युवापुस्ताको असन्तुष्टि र विद्यमान व्यवस्थाप्रतिको आक्रोश नै यस आन्दोलनको मूल आधार बनेको हो । तर, आन्दोलनको वास्तविक मर्मलाई ओझेल पार्दै सैनामैना नगरपालिका भित्र जुन प्रकारका घटनाहरू भए, त्यसले आन्दोलनको औचित्यमाथि प्रश्न उठाएको छ ।
क्षतिको दुरचित्र :
सैनामैना नगरपालिकामा भएको अराजक गतिविधिले नगरलाई नै शोकाकुल बनाएको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माको घर तोडफोड र आगजनी पछि पूर्णरुपमा ध्वस्त बनेको छ । यस्तै सैनामैना नगरपालिकाकी उप–प्रमुख विना रानाको घरमा समेत तोडफोड र आगजनी गरिएको छ भने रानालाई बेइजेत गराउने उद्धेश्ले केहि व्यक्तिले कालोमोसो दली भिडियो बनाइ सामाजिक सञ्जाल, फेशबुक, टिकटकमा राखेर उपप्रमुख रानाको चरित्र हत्या गरेका छन् । यस्तै सैनामैना नगरपालिकाका पूर्व मेयर चित्र बहादुर कार्कीको घरमा समेत तोडफोड गरेका छन् ।
यता तीन प्रमुख दलहरूसँग सम्बन्धित पार्टी कार्यालयहरूमा आगजनी गर्नु—यी सबै घटनाले आन्दोलनको रुपरेखालाई हिंसात्मक र गैरजिम्मेवार गतिविधिमा परिणत गरिदिएको छ । सैनामैना ३ मा रहेको नेकपा एमालेको पार्टि कार्यालय आगजनी पछि पुर्ण रुपमा नष्ट भएको छ । सैनामैना ६ मा नेपाली कांग्रेसका नगर सभापती रण बहादुर खनलाको घरमा रहेको पार्टि कार्यलय र खनालको घरमा समेत पुर्ण क्षती पुगेको छ । यस्तै सैनामैना २ मा रहेको नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मान बहादुर महत नारको घरमा रहेको पार्टि कार्यालय र महतको घरमा समेत जेनजी समुहको आन्दोलनले पुर्ण क्षती पुगेको छ । यी सवै तथ्यलाई हेर्दा जेनजी आन्दोलन शान्तिपूर्ण असहमति प्रदर्शनबाट हटेर प्रतिशोधात्मक अराजकतामा बदलिएको प्रमाण देखिन जान्छ ।
आन्दोलन र गैर–आन्दोलनबीचको अन्तर :
जेनजी आन्दोलनले मूलतः युवापुस्ताको चाहना, अवसरको खोजी, नेतृत्वप्रतिको असन्तुष्टि र भविष्यप्रतिको असुरक्षालाई उजागर गर्ने अवसर दिएको थियो । तर सैनामैनामा देखिएका हिंसात्मक गतिविधि वास्तविक आन्दोलनकारी भन्दा पनि गैर–जेनजी समूहले उद्देश्यमाथि प्रहार गर्न प्रवेश गरेको संकेत दिन्छ ।
यसरी आन्दोलनको नाममा तोडफोड गर्नेहरूले जेनजी आन्दोलनको साखमाथि नै प्रश्न खडा गरेका छन् । युवाहरूको आवाजलाई बदनाम गराउने र आन्दोलनलाई “हिंसाको नाम“ भनी प्रस्तुत गराउने काम यसरी भएको छ ।
लोकतन्त्र र आन्दोलनको जिम्मेवारी :
लोकतान्त्रिक व्यवस्थामा असहमति प्रकट गर्ने अधिकारलाई कसैले नकार्न सक्दैन । आन्दोलन, प्रदर्शन र बहस लोकतन्त्रकै अंग हुन् । तर त्यो अधिकार प्रयोग गर्ने तरिका मर्यादित, विवेकपूर्ण र कानुनी दायराभित्र हुनुपर्छ ।
घर जलाउने, कार्यालय तोडफोड गर्ने, नेतृत्वलाई अपमानित गर्ने कार्य कुनै पनि आन्दोलनले वैधता पाउँदैन । यसरी हिंसात्मक बाटो रोज्दा आन्दोलनको सारतत्व हराउँछ र राज्यलाई मात्र होइन, आम नागरिकलाई समेत गम्भीर क्षति पुग्छ ।
राजनीतिक दल र नेतृत्वको जिम्मेवारी :
सैनामैनामा भएको घटनाले एउटा प्रश्न उब्जाएको छ—के राजनीतिक दलहरू आफ्नो जनप्रतिनिधि र कार्यालयलाई सुरक्षित राख्न असमर्थ भए ? स्थानीय नेताहरूको घर आक्रमण हुनु भनेको केवल व्यक्ति वा दलमाथि नभई सम्पूर्ण लोकतान्त्रिक संरचनामाथि आक्रमण हुनु हो ।
यसकारण, सवै राजनैतिक दलहरूले यो घटनाबाट शिक्षा लिनुपर्छ । युवा पुस्ताको असन्तुष्टि किन चुलिएको हो ? किन उनीहरू विद्यमान नेतृत्वलाई अस्वीकार गर्न थालेका छन् ? यी प्रश्नको गहिरो उत्तर खोजेर मात्र आगामी दिनमा यस्ता किसिमका हिंसात्मक आन्दोलन रोक्न सकिन्छ ।
राज्यको भूमिका :
अहिले तत्काल आवश्यक कुरा भनेको घटनाको निष्पक्ष छानबिन हो । तोडफोड र आगजनीमा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याउनुपर्छ । दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले मात्र अराजकतालाई प्रोत्साहन गर्छ ।
त्यसैगरी, जेनजी आन्दोलनकारी र हिंसात्मक समूहबीच छुट्याएर मात्र न्याय गर्न सकिन्छ । सरकारले युवापुस्ताको जायज मागलाई सम्बोधन गर्न संवाद र नीतिगत सुधारमा गम्भीरता देखाउनैपर्छ ।
निष्कर्ष :
जेनजी आन्दोलनले देखाएको असन्तुष्टि र भविष्यमुखी चाहना वैध र महत्त्वपूर्ण छ । तर सैनामैनामा भएको हिंसात्मक गतिविधिले यो आन्दोलनको साखमा धक्का पुर्याएको छ ।
हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने हिंसा कहिल्यै समाधान होइन, यो त केवल असली आन्दोलनलाई कमजोर पार्ने हतियार हो । त्यसैले राज्य, राजनीतिक दल र आन्दोलनकारी सबैले जिम्मेवारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।