
उपकार अनलाइन, सैनामैना ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सैनामैना नगर कमिटीले हालै सम्पन्न ‘जेनजी आन्दोलन’का क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । घाइते भएकाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पार्टीले पीडित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको जनाएको छ ।
एमालेले विज्ञप्तिमार्फत आन्दोलनको शान्तिपूर्ण घोषणाविपरीत देशभर भएका तोडफोड, आगजनी, हिंसा र लुटपाट घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति भवन, आन्तरिक राजस्व कार्यालय, पालिका कार्यालय, भाटभेटेनी सुपरमार्केट, नेताहरुका घरलगायत सयौं संरचना जलेर नष्ट हुनुका साथै बहुमुल्य अभिलेख र दस्तावेजहरु समेत नष्ट भएको पार्टीको दाबी छ ।
“देशमा विकासको दृष्टिले दशकौँ पछाडि धकेल्ने खालको अवाञ्छित घटना घटेको छ, अरबौँको क्षति भएको छ,” विज्ञप्तिमा उल्लेख छ । विशेष राजनीतिक दलका नेता र कार्यालयलाई निशाना बनाइएको भन्दै एमालेले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कठोर कारबाही गर्न माग गरेको छ ।
अध्यक्ष चेतनारायण न्यौपानेद्वारा जारी विज्ञप्तीमा पार्टी पंक्तिलाई विचलित नहुन, एकताबद्ध भएर भविष्यप्रति आशावादी बन्न आह्वान गरिएको छ । साथै, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा, शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनसँग सहकार्य गर्न आग्रह गरिएको छ ।
एमालेले देशभरका सुरक्षांगलाई जनताको ज्यान–धनको सुरक्षा प्रभावकारी बनाउन समेत विशेष आग्रह गरेको छ ।