शान्तिदीप युवा क्लब छत्रकोटको १९औं वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गुल्मी । छत्रकोट गाउँपालिका–६ मोहरेमा रहेको शान्तिदीप युवा क्लबले आफ्नो १९औं वार्षिक उत्सव तथा विजयादशमी र शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित सम्पन्न गरेको छ।

चार दिनसम्म सञ्चालित वार्षिकोत्सवको अवसरमा साविक गाविसस्तरीय अन्तरवडा भलिबल प्रतियोगिता तथा घैँटोफोर प्रतियोगिता आयोजना गरिएको थियो।
भलिबल प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो। सो प्रतियोगितामा कुँवर समाज, सत्यवती गाउँपालिका–१ अस्ले प्रथम, बिहानी युवा क्लब, गुल्मी दरबार–३ मिसुगा बिरबास द्वितीय र सुनौलो बिहानी युवा क्लब, छत्रकोट–६ दौघा तृतीय स्थानमा रहेका थिए।

विजेता टिमलाई क्रमशः प्रथम पुरस्कारका रूपमा रु २० हजार नगद, कप, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीयलाई रु १३ हजार नगदसहित कप, ट्रफी, मेडल र प्रमाणपत्र, र तृतीयलाई रु ७ हजार नगदसहित कप, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, घैँटोफोर प्रतियोगितामा गौतम सुनार विजयी भएका थिए।

वार्षिकोत्सवको समापन समारोह क्लबका अध्यक्ष विकास ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि छत्रकोट गाउँपालिका–६ का वडा अध्यक्ष नारायण रेश्मी रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा पूर्व वडा अध्यक्ष थम्मन ज्ञवाली र गाउँपालिका कार्यपालिका सदस्य कमला ज्ञवाली उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू शंकर ज्ञवाली, नारायण सोमरे, लालबहादुर सोमरे र विजय विक्रम सोमरेलाई मायाको चिनोसहित सम्मान गरिएको थियो। त्यस्तै, क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत साविक दौघा गाविस वडा नं. १ र २ का ४ जना जेष्ठ नागरिक, सिलाई व्यवसायी, कटुवाल तथा ३ जना असहाय व्यक्तिलाई दोसल्ला, ढाकाटोपी, लठ्ठी र प्रशंसापत्रसहित सम्मान गरेको थियो।

उक्त अवसरमा दौघाहारी आधारभूत विद्यालयका शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थी (छात्र र छात्रा ) लाई पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै, रु. ३ हजारभन्दा बढी सहयोग गर्ने सहयोगदाताहरू र पुरस्कार सौजन्यकर्ताहरूलाई पनि फोटोफ्रेमसहितको प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न आकर्षक सांस्कृतिक नृत्य प्रस्तुति पनि गरिएको थियो। कार्यक्रमको सञ्चालन क्लबका संस्थापक सचिव कालिदास आत्रेयले गर्नुभएको थियो भने भलिबल प्रतियोगिताको सञ्चालन क्लबका सदस्य सुबास ज्ञवालीले गर्नुभएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation