सैनामैना नगरपालिकामा नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ ६ गते देखि 

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका खेलकुद विकास तथा शिक्षा शाखाको आमन्त्रणमा सैनामैना नगर खेलकुद विकास समिति, नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूबीच सोमबार सैनामैना नगरपालिकाको सभाहलमा संयुक्त बैठक सम्पन्न भएको छ।

सैनामैना नगर खेलकुद विकास समितिद्वारा २०८२ सालमा सञ्चालन गरिने नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सन्चालनका लागि आयोजित उक्त बैठकमा प्रतियोगिता सञ्चालनसँग सम्बन्धित अत्यन्तै महत्वपूर्ण विषयवस्तुहरूमा अन्तरक्रियात्मक छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको छ।

बैठक नगर खेलकुद विकास समिति सम्योज खिमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगर प्रमुख श्री फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नगर उप–प्रमुख बिना राना, शिक्षा शाखा प्रमुख टिकाराम शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै शिक्षा शाखा अधिकृत राधा बेल्बासे, शिक्षा शाखा सहायक अधिकृत यमलाल खनाल तथा नगरअन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा भएको छलफलपछि नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मिति २०८२ माघ ०६ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ। प्रतियोगिता मुर्गिया फुटबल रंगशाला तथा परोहवा माध्यमिक विद्यालयमा सञ्चालन गरिनेछ।
प्रतियोगिताअन्तर्गत भलिबल, फुटबल, तेक्वान्दो, कराते, एथलेटिक्स र कबड्डी गरी ६ खेल विधाहरू समावेश गरिने निर्णय भएको छ।
सम्बन्धित सम्पूर्ण सरोकारवालालाई उक्त निर्णयबारे जानकारी गराउँदै प्रतियोगिता सफल रूपमा सम्पन्न गर्न आवश्यक सुझाव, सल्लाह तथा सहयोगका लागि सबैको साथ र सहकार्यको अपेक्षा गरिएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation