माघ १२ देखि सञ्चालन हुने सैनामैना व्यापार महोत्सवको तयारी सुरु

बिमल गैरे, सैनामैना ।

“देश निर्माणमा व्यापारको आवश्यकता, व्यावसायिक हितसँगै सामाजिक एकता” भन्ने मूल नारासहित आयोजना हुने राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०८२ को तयारी सुरु गरिएको छ।
माघ १२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव सैनामैना नगरपालिका–६, कलौनीस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पस चोकमा आयोजना गरिनेछ। महोत्सवको आयोजना सैनामैना व्यापार संघ, रुपन्देहीले गरेको हो।

आयोजकका अनुसार महोत्सवमार्फत कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने लक्ष्य लिइएको छ। हाल स्टल व्यवस्थापन, सांस्कृतिक कार्यक्रमको रूपरेखा, सुरक्षालगायतका तयारी कार्य तीव्र रूपमा अगाडि बढाइएको जनाइएको छ।
महोत्सवका प्रमुख आकर्षणका रूपमा रसियन जलपरी, विशेष सजावटसहितको लन्डन ब्रिज गेट, सैनामैना डान्सिङ स्टार, बालबालिकाका लागि आकर्षक बाल उद्यान, साथै विभिन्न कृषि, औद्योगिक र उपभोक्ता सामग्रीका स्टलहरू रहनेछन्।
आयोजकले महोत्सव सफल बनाउन स्थानीय व्यवसायी, किसान, उद्यमी तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation