सैनामैनामा ७ मा अन्तर–टोल स्तरीय विविध खेलकुद कार्यक्रम सुरु

विमल गैरे, सैनामैना।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सैनामैना नगरपालिका–७, देउवापार को आयोजनामा अन्तर–टोल स्तरीय विविध खेलकुद कार्यक्रम सञ्चालन सुरु भएको छ।
कार्यक्रम २०८२ साल पुस २५ गतेदेखि माघ २ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुष फुटबल, पुरुष क्रिकेट, महिला रस्साकस्सी, पुरुष ब्याडमिन्टन, महिला तथा पुरुष म्याराथन र महिला तथा पुरुष भलिबल खेल समावेश छन्।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले खेलकुदले खेलाडीलाई घरपरिवारबाटै प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउँदै खेलकुदले समाजलाई सही मार्गमा लैजाने महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुदले शारीरिक स्वास्थ्य मात्र नभई सामाजिक एकता, अनुशासन र सकारात्मक सोच विकासमा सहयोग गर्ने उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो। साथै वडा नं. ७ ले सिङ्गो नगरको प्रतिनिधित्व गर्दै उदाहरणीय भूमिका निर्वाह गरेको धारणा राख्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा सैनामैना नगरपालिका–७ का वडा अध्यक्ष राजकुमार चौधरीले खेल तालिका सार्वजनिक गर्दै सबै खेलाडीलाई अनुशासनपूर्वक खेलमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले खेलकुद मार्फत स्थानीय प्रतिभाको पहिचान र आपसी सद्भाव मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

खेल तालिकाः
पुस २५ गतेः म्याराथन तथा फुटबल
पुस २६ र २७ गतेः भलिबल
पुस २८, २९ र ३० गतेः क्रिकेट
माघ १ गतेः ब्याडमिन्टन
माघ २ गतेः रस्साकस्सी तथा विविध सांस्कृतिक कार्यक्रम

स्थानीय स्तरमा खेलकुदको विकास, युवालाई खेलतर्फ आकर्षित गर्ने र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सैनामैनामा खेलकुदको उत्साह थप्ने विश्वास गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation