सैनामैनामा खेलकुदको उत्सव : नवौं राष्ट्रपति रनिङ शिल्ड भव्य रूपमा सुरु

उपकार अनलाइनल, सैनामैना ।
सैनामैना नगरपालिकामा नगर खेलकुद विकास समितिको आयोजनामा नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु भएको छ। मंगलबार मुर्गियास्थित फुटबल रंगशालामा आयोजित विशेष समारोहका बीच नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख शर्माले खेलकुदलाई सैनामैनाको पहिचानका रूपमा स्थापित गरिने बताउँदै विद्यार्थीहरूको शैक्षिक, शारीरिक र मानसिक विकासमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले नगरभित्रका विद्यालयहरूको खेलमैदान सुधार तथा खेलकुद पूर्वाधार विकासका लागि योजनाबद्ध रूपमा बजेट विनियोजन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगर उपसभापति लक्ष्मी आचार्य पौडेलले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने बताउनुभयो। पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले खेलकुद विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्ने प्रभावकारी माध्यम भएको धारणा राख्नुभयो।

नगर खेलकुद संयोजक खेम श्रेष्ठका अनुसार माघ १० गतेसम्म चल्ने प्रतियोगितामा ३० विद्यालय सहभागी छन्। प्रतियोगितामा कबड्डी, भलिबल, फुटबल तथा एथलेटिक्सअन्तर्गत दौड, कराते र तेक्वान्दोका खेलहरू सञ्चालन भइरहेका छन्। उद्घाटनका अवसरमा मार्चपास प्रतियोगिता समेत सम्पन्न भएको थियो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation