
सैनामैना। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सैनामैनालाई सांस्कृतिक र पर्यावरणमैत्री सहरका रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । बुद्धकालीन महत्व बोकेको प्राचीन वास्तुकला र सभ्यताको ऐतिहासिक बस्तीका रूपमा चिनिँदै आएको सैनामैनाको ऐतिहासिक तथा सांस्कृतिक पक्षको संरक्षण र प्रवद्र्धन गर्दै दिगो र व्यवस्थित सहर निर्माणका लागि योजनाबद्ध कामको सुरुआत भइसकेको स्मरण गर्दै नेता पौडेलले अधुरा योजनाहरूलाई पूर्णतामा पुर्याउन विशेष ध्यान दिइने बताएका हुन् ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै शनिबार सैनामैनाका विभिन्न स्थानमा स्थापना गरिएका प्रचार कार्यालयहरूको उद्घाटन समारोहमा बोल्दै नेता
पौडेलले अधुरा काम पूरा गर्ने, नयाँ योजनाहरू अघि बढाउने र सैनामैनालाई व्यवस्थित सांस्कृतिक सहरका रूपमा विकास गर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरे । विकासलाई जनताको जीविकासंग जोड्ने, बस्तीहरुको व्यवस्थित र सुरक्षित आबाससंग जोड्ने उल्लेख गर्दै उनले दिगो र पर्यावरणमैत्री विकास नै अबको उपयुक्त विकास रहेको बताए । सैनामैना नगरपालिकाका वडा नं १, २, ३ र ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्दछन् भने बाँकी वडाहरू क्षेत्र नं. ५ मा पर्दछन् । ११ वटा वडा रहेको सैनामैनामा नेकपा एमाले क्षेत्रीय निर्वाचन परिचालन कमिटीको आयोजनामा सबै वडामा चुनाव लक्षित प्रचार कार्यालय सञ्चालन गरिएको छ ।
शनिबार रानीबगिया, सोरौली, पर्सावल र लुम्बिनी रोडमा स्थापना गरिएका क्षेत्र नं. २ का प्रचार कार्यालयहरूको अलग–अलग समारोहबीच उद्घाटन गर्दै नेता पौडेलसहित एमाले नेताहरूले समग्र रुपन्देहीलाई नै विकासको ‘रोल मोडल’ बनाउने गरी योजनाबद्ध रूपमा काम गरिने उल्लेख गरे। सो अवसरमा नेता पौडेलले सैनामैनाको छुट्टै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै गाउँबाट नगरमा रूपान्तरण भएको यस क्षेत्रलाई सांस्कृतिक तथा ऐतिहासिक पहिचानसहितको विशेष व्यवस्थित बस्तीका रूपमा विकास गर्न आफूहरू केन्द्रित रहने बताए । सैनामैनामा केही समयअघि उत्खननका क्रममा फेला परेको बोधिसत्व पद्मपाणीको मूर्तिलाई बुद्धकालीन महत्वको मानिन्छ । पुरातत्व विभागले उक्त मूर्तिलाई १४औँ शताब्दीमा निर्माण भएको प्राचीन वास्तुकलाको नमुनाका रूपमा मान्यता दिएको छ । बुद्धको त्रिभंग आकारको उक्त मूर्ति सैनामैनाको रानीबगिया क्षेत्रमा फेला परेको हो ।
यस क्षेत्रका रानीकुवा, राजाकुवालगायतका प्राचीन सम्पदाहरू पनि बुद्धकालीन समयका जीवित प्रमाणका रूपमा लिइन्छन् । ती सम्पदाको व्यवस्थित र वैज्ञानिक उत्खनन गर्न विज्ञहरूले आग्रह गर्दै आएका छन् । यस्ता ऐतिहासिक प्रमाण र सम्पदाको संरक्षण गर्दै सांस्कृतिक पहिचानसहितको व्यवस्थित बस्ती निर्माणमा आफूहरू केन्द्रित रहने नेता पौडेलले स्पष्ट पारे । अव्यवस्थित बसोबासीको समस्या, भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने चरणमा पुग्नै लाग्दा व्यवधान खडा गरि अलमलाइदिएको उनको गुनासो छ । नेता पौडेलकै पहलमा सैनामैनामा प्राकृतिक चिकित्सालय, पर्रोहा परमेश्वर बोलबध धामको पुनर्निर्माण, सैनामैना चक्रपथ, नगर अस्पताल, ज्येष्ठ नागरिक मिलन केन्द्र, सामुदायिक विद्यालयका भवनहरु, ती विद्यालयहरुमा आधुनिक प्रयोगशाला निर्माण भइसकेका छन् । त्यसैगरी, सैनामैनामै प्रदेशस्तरीय फोहरमैला प्रशोधन केन्द्र निर्माणको प्रक्रिया पनि पौडेलकै नेतृत्वमा सुरु गरिएको हो । जग्गा प्राप्तिदेखि स्रोत सुनिश्चिततासम्मका कार्यमा उनको नेतृत्वदायी भूमिका रहेको छ ।
साथै, सैनामैना–३ गंगानगरको लामीरह क्षेत्रमा बहुउद्देश्यीय जलाशययुक्त बाँध निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । वातावरणीय अध्ययनलगायतका काम सम्पन्न भइसकेकाले अब केही समयमै उक्त महत्वाकांक्षी योजनाको ठेक्का प्रक्रिया अगाडि बढ्ने जनाइएको छ । वन क्षेत्रको संरक्षण, हरियाली प्रवद्र्धन, वन अनुसन्धान केन्द्रको विकास, पर्यावरणीय सन्तुलनका अभियान सञ्चालन तथा समग्र सैनामैनाबासीको आयआर्जन वृद्धिका योजना अघि बढाउने प्रतिवद्धता पनि नेता पौडेलले व्यक्त गरे । उनले सैनामैनाका वडा नं। १ देखि ४ मात्र नभई समग्र सैनामैना, जोडिएका पालिकाहरू हुँदै सिंगो रुपन्देहीलाई नै विकासको नमुना जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम सुरु गरिएको बताए । साथै, सैनामैनालाई लुम्बिनीको प्रवेशद्वार, हिलस्टेशनको केन्द्र तथा जलाशययुक्त क्षेत्रका रूपमा विकास गरिने जानकारी दिए ।
वडा नं.१ मा खुशीराम चौधरी, वडा नं.२ मा शिवलाल घिमिरे, वडा नं.३ मा चामबहादुर क्षेत्री र वडा नं.४ मा चन्द्रकान्त भण्डारीको अध्यक्षतामा
सम्पन्न उद्घाटन कार्यक्रमहरूमा एमालेका विभिन्न तहका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा विभिन्न क्षेत्रबाट नेकपा एमालेमा प्रवेश गरेकाहरूलाई नेता पौडेलले स्वागत गरेको एमाले नेता मिनप्रसाद पौडेलले बताए ।
प्रचार कार्यालय उद्घाटनसँगै अब सैनामैनाका चारै वडा तथा अर्को निर्वाचन क्षेत्रमा पर्ने बाँकी वडाहरूमा एकसाथ चुनावी अभियान सुरु गरिने नेकपा एमाले सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपानेले जानकारी दिए ।












