
जितपुर, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार तथा वरिष्ठ समाजसेवी कृष्ण कुँवरले घरदैलो अभियानका क्रममा सक्रिय युवा समूहसँग अन्तरक्रिया गरेका छन्। समाज सुधार तथा विकृतिविरुद्ध अभियान चलाउँदै आएका युवासँगको भेटमा कुँवरले राजनीतिमा प्रवेश गर्नुको कारण खुलाएका हुन्।
नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका कुँवरलाई युवाहरूले समाज विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै प्रश्न गरेका थिए, “समाजसेवामै सक्रिय रहँदा पर्याप्त थिएन ररु राजनीति त फोहोरी खेल भनिन्छ, त्यसमा किन प्रवेश गर्नुभयो ?”
जवाफमा कुँवरले आफू रहरले नभई जनताको चाहनाअनुसार चुनावी मैदानमा उत्रिएको बताए। “मेरो व्यक्तिगत प्रयासले मात्र समाज परिवर्तन सम्भव देखिनँ। समाजसेवा गर्दै बस्दा भ्रष्ट प्रवृत्तिका मानिसहरू चुनाव जित्ने अवस्था आयो। सम्बन्धित निकायमै पुगेर काम गर्न सकिन्छ कि भन्ने सोचले राजनीतिमा होमिएको हुँ,” उनले भने।
राजनीतिलाई फोहोरी खेल भन्ने धारणा स्वीकार गर्दै उनले थपे, “मलाई थाहा छ, यहाँ इमानदार व्यक्ति प्रायः पछि पारिन्छन्। तर मलाई अघि बढाउने वा पछि पार्ने जिम्मा युवाहरूको हातमा छ।”
कुँवरले मत माग्न आउने हरेक उम्मेदवारलाई कडा प्रश्न गर्न युवाहरूलाई आग्रह गरे। “सबै उम्मेदवारसँग तुलना गर्दा म उपयुक्त लाग्दिनँ भने मलाई मत नदिनुहोला। यो चुनाव पार्टीभन्दा पनि व्यक्तिको मूल्याङ्कन गर्ने चुनाव हो। पार्टीभन्दा माथि उठेर निर्णय गर्नुस्,” उनले आग्रह गरे।
उनले युवाविना समाज परिवर्तन सम्भव नहुने उल्लेख गर्दै आफ्नो पृष्ठभूमि तथा समाजसेवामा गरेका कार्यहरूको जानकारी दिएका थिए।
कार्यक्रममा सहभागी युवा रेशम मरासिनीले कुँवरजस्तो इमानदार र समाजप्रति उत्तरदायी नेतृत्वको आवश्यकता रहेको बताए। अन्य युवाहरूले पनि परिवर्तनका लागि स्वच्छ छविको नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।
अन्तरक्रियापछि युवाहरूले राष्ट्रिय झण्डा ओढाएर कुँवरलाई स्वागत गरेका थिए, जसले चुनावी माहोललाई थप उत्साहित बनाएको थियो।












