
रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका युवा नेता खिमलाल भट्टराईले बुद्धभूमि लुम्बिनी, हरित–कृषिलाई यसक्षेत्रको समृद्धिको आधार मान्दै सोही अनुरुपको प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । लुम्बिनी जस्तो पवित्र सम्पदा स्थल, बुद्धसंग जोडिएका क्षेत्र, खेतीयोग्य जमिन प्रसस्त रहेको क्षेत्र समेत रहेकाले यसक्षेत्रमा पर्यटन र कृषि नै समृद्धिका मूल आधार मानिन्छन् । यहीँ सेरोफेरोमा रहेर पत्रकार अमृत गिरीले नेता भट्टराईसंग गरेको कुराकानीको सम्पादित अंश यहाँ अन्तर्वार्ताका रुपमा प्रस्तुत गरिएको छ ।
प्रश्न १ः तपाईंको उम्मेदवारीको मूल दृष्टि र प्राथमिकता के हो ?
भट्टराई : मेरो उम्मेदवारी कुनै व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर क्षेत्रको समग्र विकाससँग जोडिएको छ । लुम्बिनी लाई केन्द्रमा राखेर यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक, शैक्षिक र आर्थिक दृष्टिले नमुना क्षेत्र बनाउने लक्ष्य छ । लुम्बिनी, सैनामैना, कञ्चन, गैडहवा, मायादेवी लगायतका पालिकालाई एउटै समन्वित विकास अवधारणामा जोडेर दीर्घकालीन गुरुयोजना अनुसार अघि बढ्ने मेरो प्राथमिकता हो ।स्थिरता र विकास एकअर्काका परिपूरक हुन् । त्यसैले राजनीतिक स्थायित्व, सुशासन र पारदर्शितासँगै पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीमा ठोस परिणाम दिने काम गर्ने प्रतिबद्धता लिएको छु ।
प्रश्न २ः लुम्बिनी विकासबारे तपाईंको ठोस योजना के हो ?
भट्टराई : लुम्बिनी केवल धार्मिक स्थल मात्र होइन, विश्व शान्तिको प्रतीक हो । यसलाई राष्ट्रिय प्राथमिकतामा राखेर तिलौराकोट, देवदह, रामग्राम र सैनामैनासँग जोडेर ‘वृहत् लुम्बिनी क्षेत्र’ विकास गरिनेछ । सैनामैनालाई बुद्धकालीन प्राचीन सहर मानिन्छ । यहाँ १४ औं शताब्दीमै निर्माण भएका बास्तुकलाका अवसेशहरु फेला परेका छन् । यिनको संरक्षण, थप उत्खनन र समुदायमो अपनत्वमा विशेष कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने योजना छ ।
पर्यटनमैत्री सडक, सूचना केन्द्र, डिजिटल गाइड प्रणाली, स्तरीय अस्पताल, तारे होटल, स्वच्छता र सुरक्षा व्यवस्थालाई सुदृढ बनाइनेछ । साथै लुम्बिनी विश्वविद्यालयलाई बुद्धिज्म (बौद्ध दर्शन) अध्ययनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने पहल गरिनेछ । यसबाट धार्मिक पर्यटनसँगै शैक्षिक पर्यटन पनि विस्तार हुनेछ ।
अहिलेको आधुनिक समाज र विज्ञानले पनि बौद्ध दर्शनको शान्दर्भिकतालाई प्रष्टाएको छ । पश्चिमा मुलुकमा बौद्ध दर्शनलाई आत्मसात गर्दै माइण्डफुलनेश, ध्यान, योग र आयुर्वेदको प्रबद्र्धनमा केन्द्रित भइसकेको अवस्था छ । उनीहरु विकासको एउटा चरम चुलीमा पुगेर पनि फेरि अब ‘प्रकृत्तिमा फर्क’ भन्ने अभियानमा जुटेका छन् । यहाँ त हाम्रो प्रकृत्ति यसै पनि अनुकुल छ ।
प्रश्न ३ः कृषि क्षेत्रलाई कसरी आधुनिक र लाभदायी बनाउने योजना छ ?
भट्टराई : यो क्षेत्र कृषि सम्भावनाले भरिपूर्ण छ । सतही र भूमिगत सिँचाइ विस्तार, डिप ट्युबवेल सञ्चालन, नदी नियन्त्रण तटबन्ध, किसान कार्ड, कृषि बीमा र शीत भण्डार निर्माणमार्फत उत्पादन वृद्धि गरिनेछ । कृषिमा संलग्न भएका युवाहरुलाई प्रोत्साहन र नयाँलाई आकर्षणको नीति बनाइनेछ ।
कृषकलाई उन्नत बीउ, मलखाद, प्रविधि र बजार सुनिश्चित गरिनेछ । मलको सधैंको हाहाकारलाई न्यूनीकरण गर्दै सकभर विकल्प खोजेर उत्पादन बृद्धिका योजना बनाइने छ । जैविक मलको उत्पादन, प्रबद्र्धनका सम्भावनालाई पनि हेरिनेछ । कृषि पकेट क्षेत्र विकास र सहकारीमार्फत व्यावसायीकरणलाई प्राथमिकता दिइनेछ । उद्देश्य स्पष्ट छ–निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषितर्फ रूपान्तरण ।
प्रश्न ४ : युवा र रोजगारीका सवालमा तपाईंको प्रतिबद्धता के हो ?
भट्टराई : मैले माथि पनि उल्लेख गरिसकेको छु । ‘स्वदेशमै श्रम, स्वदेशमै रोजगार’ हाम्रो मूल नारा हो । एक घर एक रोजगारको अवधारणा कार्यान्वयन गरिनेछ । युवा उद्यम कोष, सहुलियत ऋण, सीप विकास तालिम, इन्टर्नसिप र स्टार्टअप कार्यक्रममार्फत युवालाई उद्यमशील बनाइनेछ ।
वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ । साथै यहाँ सञ्चालन हुने उद्योगमा स्थानीय युवालाई प्राथमिकता दिने व्यवस्था मिलाइनेछ ।
प्रश्न ५ः शिक्षा र स्वास्थ्य सुधारका लागि के योजना छन् ?
भट्टराई : सबै बालबालिकालाई निःशुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराइनेछ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै विषयगत शिक्षकको व्यवस्था गरिनेछ । सकभर ‘क्याचमेन एरिया’को नीति बनाएर समुदायमै रहेका विद्यालयमै गुणस्तरी र प्रभावकारी शिक्षा उपलव्ध हुने प्रबन्ध मिलाइनेछ । स्थानीय क्याम्पसहरूलाई स्नातकोत्तर तहसम्म विस्तार गर्ने र प्राविधिक शिक्षा प्रवद्र्धन गर्ने लक्ष्य छ ।
स्वास्थ्य क्षेत्रमा १०० शैयाको सुविधा सम्पन्न अस्पताल, ट्रमा सेन्टर, सर्पदंश अस्पताल स्तरोन्नति, प्रत्येक वडामा स्वास्थ्य केन्द्र र स्वास्थ्य बीमा विस्तार गरिनेछ । विपन्न, ज्येष्ठ नागरिक र एकल महिलाका लागि स्वास्थ्य बीमामा राज्यको लगानी सुनिश्चित गरिनेछ । मूल उद्देश्य त रोग लाग्नै नदिनेगरी आहारविहार र रहनसहनको विकास गर्न प्रेरित गरिनेछ ।
प्रश्न ६ : सामाजिक न्याय र सुशासनका विषयमा तपाईंको धारणा ?
भट्टराई : भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिनेछ । जनता आवास कार्यक्रम विस्तार गरिनेछ । सामाजिक सुरक्षा भत्ता प्रभावकारी वितरण र आवश्यकताअनुसार वृद्धि गरिनेछ ।
सरकारी सेवा डिजिटल प्रणालीबाट सञ्चालन गरिनेछ, जसले छिटो, सहज र पारदर्शी प्रशासन सुनिश्चित गर्नेछ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।
प्रश्न ७ः मतदातालाई तपाईंको सन्देश ?
भट्टराई : म यहीँको स्थायी बासिन्दा हुँ, यहीँका समस्या र सम्भावनासँग परिचित छु । विकासका ठोस एजेन्डा र स्पष्ट कार्ययोजनासहित जनताको बीचमा आएको छु । रुपन्देही–५ लाई शान्त, सुन्दर, हराभरा, समृद्ध र अवसरयुक्त क्षेत्र बनाउने मेरो प्रतिबद्धता छ । स्थिरता, विकास र सुशासनका लागि सूर्य चिन्हमा मतदान गरी मलाई सेवा गर्ने अवसर दिनुहोस् भन्ने हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद ।












