नयाँ भन्दैमा के सबै ठिक छन् त ?

बुटवल । चुनाबमा अनुहार होइन, दृष्टिकोण हेरौं । नयाँका नाममा आलाकाँचा होइन, अनुभवी छानौं । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक बजारमा सबैभन्दा बढी सुनिने शब्द बनेको छ–‘नयाँ’ । नयाँ पार्टी, नयाँ उम्मेदवार, नयाँ अनुहार । तर के केवल नयाँ अनुहारले मात्र परिवर्तन सुनिश्चित गर्छ ? कि परिवर्तनको वास्तविक आधार स्पष्ट दृष्टि, ठोस एजेन्डा र कार्यान्वयन क्षमता हो ? यही प्रश्न अहिलेको बहसको केन्द्रमा हुनुपर्छ ।

पछिल्ला तीन दशकमा देशले महत्वपूर्ण संरचनागत परिवर्तन देखेको छ । २०४६ सालताका करिब ७ हजार किमी सडक सञ्जाल रहेको नेपालमा आज ठूला सडक मात्र ३६ हजार किमीभन्दा बढी पुगेका छन्, समग्र सडक सञ्जाल एक लाख किमी आसपास विस्तार भएको छ । विद्युत् उत्पादन २२७ मेगावाटबाट बढेर ३४०० मेगावाट नाघेको छ र ९७ प्रतिशतभन्दा बढी जनतामा पहुँच पुगेको छ । टेलिफोनका सीमित लाइनबाट आज तीन करोडभन्दा बढी मोबाइल प्रयोगकर्तासम्मको यात्रा सम्भव भएको छ । औसत आयु ४७ वर्षबाट ७० वर्षभन्दा माथि पुगेको छ, बालमृत्युदर उल्लेखनीय रूपमा घटेको छ । यी परिवर्तन आकस्मिक होइनन्; नीति, योजना र निरन्तर प्रयासको परिणाम हुन् ।

स्थानीय उदाहरण हेर्दा पनि तस्वीर फरक छैन । कहिल्यै सडक नपुगेका बस्तीमा आज पक्की सडक पुगेका छन् । सहकारी, विद्यालय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र विद्युत् सञ्जाल गाउँसम्म विस्तार भएका छन् । विकासका सूचकहरू–प्राकृतिक स्रोतको उपयोग, मानवीय क्षमताको वृद्धि, आर्थिक गतिविधि, भौतिक पूर्वाधार र सामाजिक पहुँच– यी पाँचै क्षेत्रमा उकालो लागेको छ । चुनौती छैनन् भन्ने होइन; असमानता र व्यवस्थापनका कमजोरी अझै छन् । तर समग्र यात्रा शून्यबाट सुरु भएर उल्लेखनीय उचाइमा पुगेको यथार्थलाई नकार्न सकिँदैन ।

यस सन्दर्भमा ‘नयाँ’ भन्ने शब्द भावनात्मक नारा मात्र बन्नु हुँदैन । अनुभवहीनता नयाँपन होइन, परिपक्व सोच र उत्तरदायी नेतृत्व नै साँचो नयाँपन हो । लोकतन्त्र प्रयोगशाला होइन, नागरिकको भविष्य कुनै परीक्षणको विषय होइन । त्यसैले मतदाताले अनुहार होइन, दृष्टि हेर्नुपर्छ; नारा होइन, नीति खोज्नुपर्छ; भावनात्मक लहर होइन, दीर्घकालीन योजना मूल्यांकन गर्नुपर्छ । सचेत जनताले तथ्यका आधारमा मूल्यांकन गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने छ । कुनैपनि भ्रमको पछि लागेर, सामाजिक सञ्जालमा आउने फेक र झूट कुराबाट प्रभावित भएर होइन तथ्यका आधारमा सत्य स्थापित गर्ने कोसिस गरौं ।

अन्ततः प्रश्न ‘को नयाँ ?’ भन्दा महत्वपूर्ण प्रश्न ‘को सक्षम, दूरदर्शी र जिम्मेवार छ ?’ भन्ने हो । लोकतन्त्रको सुन्दरता निरन्तर सुधारमा छ– अनुभवको मूल्यांकन गर्दै, सोचमा नवीनता ल्याउँदै र उपलब्धिलाई आधार मानेर अगाडि बढ्दै । यही सन्तुलनले मात्र स्थिरता र समृद्धितर्फको यात्रा सुनिश्चित गर्न सक्छ । आफ्‌ना कुरा राख्नका लागि अरुलाई गाली गर्न जरुरी छैन । अरुलाई पूर्वाग्रही भएर गाली गर्नु, एकोहोरो आलोचना गर्नु, समाजमा विखण्डन ल्याउन खोज्नु राम्रो होइन । यसो गर्नु नयाँपन हुँदैहोइन । अरुलाई गाली गरेर होइन, आफ्‌ना राम्रा कुरा गरेर मन जितौं । अनुहार हेरेर होइन निरन्तरता र दृष्टिकोण हेरौं । विवेक पुर्‍याऔं ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation