
सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले आफ्ना संस्थामा आबद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा स्थानीय स्तरमा वित्तीय ज्ञान अभिवृद्धि गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्य राखिएको थियो। प्रमुख अतिथि सैनामैना नगरपालिका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले संस्थाले आर्थिक समस्या भोगिरहेका नागरिकहरूलाई लगानीको माध्यमबाट सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले ऋण लिएपछि उपभोगमा मात्र सीमित नराखी उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो। यस्ता कार्यक्रमले स्थानीय अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले आरम्भ चौतारी लघुवित्तले आफ्नो वडासहित सम्पूर्ण आबद्ध सदस्यहरूको आवश्यकता अनुसार काम गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले विशेष गरी उत्पादनमूलक सीप, साना उद्यम तथा स्वरोजगारका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना भई आर्थिक सशक्तिकरणमा टेवा पुग्ने धारणा राख्नुभयो। साथै, आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउन सुझाव दिनुभयो।
कार्यक्रममा संस्थाका संस्थापक सेयर सदस्य तथा नेपाल फाइनान्सका शाखा प्रमुख यज्ञमणि घिमिरेले लघुवित्त संस्थाहरूले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। बुटवल स्टेसन प्रमुख मधु कुँवरले उपस्थिति लाई स्थानीय समुदायको आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरिने स्पष्ट पार्नुभयो। उहाँले वित्तीय साक्षरता अभिवृद्धि, बचतको बानी विकास तथा साना व्यवसाय प्रवर्द्धनमा संस्थाले निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। कार्यक्रमको स्वागत मन्तव्य समेत मधु कुँवरले व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता आरम्भ चौतारी लघुवित्त प्रबन्धक कल्पना बन्जाडे सुवेदी ले गर्नुभएको थियो। उहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि,आबद्ध सदस्य तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै संस्थाले आगामी दिनमा पनि आबद्ध सदस्यहरूको आवश्यकता अनुसार कार्यक्रम तथा लगानी विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा मुर्गियामा रहेको ईलाका प्रहरी कार्यलयमा कार्यरत हवलदार सीता बस्नेत सहायक हवल्दार अनिल रायमाझी पत्रकार दिनेश घिमिरे बिमल गैरे लगाएत को अतिथि को उपस्थिति रहेको थियोे ।
आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले सैनामैना क्षेत्रमा वित्तीय पहुँच विस्तार, उद्यमशीलता विकास र स्थानीय आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको देखिन्छ। यस्तो कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।












