खानेपानी संस्थामा राजनैतिक भागबण्डा नगर्न थापाको चेतावनी, अध्यक्षमा उम्मेदवारीको आकांक्षा सार्वजनिक

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भए संगै नेतृत्व चयनको विषय थप चासोको केन्द्र बनेको छ। यसैबीच सैनामैना ४ निवासी नेत्र थापाले संस्थामा राजनीतिक भागबण्डा नगर्न कडा धारणा सार्वजनिक गर्दै आफू अध्यक्ष पदको आकांक्षीसमेत रहेको बताएका छन्।

थापाले उक्त संस्था कुनै पनि राजनीतिक दलको स्वामित्वमा नभई ४ हजार ६ सयभन्दा बढी उपभोक्ताको लगानी, श्रम र विश्वासबाट निर्माण भएको साझा सामाजिक संस्था भएको उल्लेख गरेका छन्। उनले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप र पद बाँडफाँडको प्रवृत्ति अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको उपकार अनलाइन संग बताए।

उनका अनुसार देश परिवर्तनको दिशातर्फ अघि बढिरहेको अवस्थामा पुराना मात्र नभई नयाँ राजनीतिक शक्तिहरूले समेत सामाजिक संघसंस्थामा भागबण्डाको अभ्यास गर्नु चिन्ताजनक विषय भएको बताएका छन्। उनले सामाजिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्दै सक्षम, इमानदार र सेवामुखी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्।

थापाले संस्थामा राजनीतिक आस्था राख्ने व्यक्तिहरूसँगै स्वतन्त्र र गैरदलीय सोच भएका नागरिकहरूको पनि बराबर हक र सहभागिता रहेको उल्लेख गर्दै नेतृत्व चयन गर्दा राजनीतिक पहिचानभन्दा क्षमता, योगदान र सामाजिक भावना प्राथमिक हुनुपर्ने बताए।

उनले स्पष्ट पारेका छन् कि यदि संस्थामा राजनीतिक भागबण्डा नगरिने वातावरण बनाइयो भने आफू सहमति र सहकार्यको पक्षमा रहनेछन्। तर यदि त्यस्तो अवस्था सिर्जना नभए स्वतन्त्र प्यानलमार्फत अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्।

साथै उनले स्वच्छ, पारदर्शी र सक्षम नेतृत्व निर्माणका लागि सचेत, इमानदार र समाजप्रति जिम्मेवार उपभोक्ताहरूलाई एकजुट हुन आह्वान गरेका छन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation