
रुपन्देही । नयाँ वर्ष २०८३ को अवसर पारेर तानसेन नगरपालिका वडा नं. १४ मा “प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२” आयोजना हुने भएको छ। अर्गली खेलकुद व्यवस्थापन समिति र वडा कार्यालयको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता चैत्र २७ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिनेछ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगितामा पालिका स्तरीय पुरुष भलिबल टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। पछिल्लो समय नेपालभर वडा स्तरमै यस्ता भलिबल प्रतियोगिताले युवाको आकर्षण बढाइरहेको देखिन्छ ।
प्रतियोगितामा विजेता टोलीलाई नगद रु १,११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले रु ६६,६६६ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले रु ४४,४४४ तथा सान्त्वना पुरस्कार स्वरूप रु २२,२२२ प्राप्त गर्ने व्यवस्था गरिएको छ।
यस्तै, उत्कृष्ट खेलाडीहरूका लागि ‘बेस्ट प्लेयर’, ‘बेस्ट स्पाइकर’, ‘बेस्ट लिफ्टर’, ‘बेस्ट डिफेन्डर’, ‘बेस्ट ब्लकर’, ‘बेस्ट सर्भर’ र ‘बेस्ट प्रशिक्षक’ विधामा समेत विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क निःशुल्क राखिएको छ। खेल तानसेन नगरपालिका–१४ स्थित अर्गली खेलमैदानमा सञ्चालन हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रति रुचि बढाउनुका साथै सामाजिक एकता र सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
सम्पर्क
खेल संयोजक – नारायण सारु ९८४७१३९५६०
सह–संयोजक – रविन्द्र राना ९८४७००६०६२













