
सैनामैना । रुपन्देहीको सैनामैना–४, मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसको १५औँ वार्षिकोत्सव तथा साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले समुदायस्तरबाट सञ्चालित क्याम्पसले उच्च शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले पर्रोहा बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै शैक्षिक धरोहरको रूपमा व्याख्या गर्दै गुणस्तरीय शिक्षा र प्रविधिमैत्री सिकाइलाई आत्मसाथ गर्दै अघि बढेमा राष्ट्रिय स्तरमै सशक्त पहिचान बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो।
सभाका अध्यक्ष खुशीराम चौधरीले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा भौतिक पूर्वाधार विस्तार तथा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गर्नुभयो। उहाँले क्याम्पसलाई समुदायकै उत्कृष्ट शैक्षिक केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
क्याम्पस प्रमुख हेमचन्द्र खरालले शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले यस वर्षदेखि नन्–क्रेडिट कोर्ष, सफ्ट स्किल ट्रेनिङ, ‘पढ्दै सिक्दै’ कार्यक्रम तथा शिक्षक क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा पूर्व क्याम्पस अध्यक्ष तुल्सीकुमार भुषाल, पूर्व क्याम्पस प्रमुख चित्रबहादुर के.सी.ले शून्यबाट सुरु भएको क्याम्पस आजको उचाइमा पुग्नु गौरवको विषय भएको उल्लेख गर्दै शैक्षिक गुणस्तर अझ सुदृढ बनाउन सुझाव दिनुभयो।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने क्याम्पसको शैक्षिक तथा प्रशासनिक विकासमा योगदान पुर्याउने प्राध्यापक र कर्मचारीहरूलाई पनि प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो।
क्याम्पस सञ्चालक समितिका सदस्य धनबहादुर कार्कीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम प्राध्यापक लोकनाथ अधिकारीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।











