
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न नेतृत्व चयन प्रक्रियामा देविदत्त सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका सुवेदीले आफ्नो अनुभव, नयाँ ऊर्जा र स्पष्ट उद्देश्यका साथ नेतृत्वमा आउन खोजेको बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै सुवेदीले विगतमा संस्थामा काम गर्ने क्रममा धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गर्दै अब ती अनुभवलाई व्यवहारमा उतार्दै संस्थालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको बताए। “हिजो सिक्ने अवसर पाएँ, आज नेतृत्व गर्ने भूमिकामा आउन खोजिरहेको छु,” उनले भने।
खानेपानी सेवामा निरन्तर सक्रिय रहँदै आएका सुवेदीले उपभोक्ताको घरघरमा स्वच्छ पिउने पानी पुर्याउने आफ्नो प्रमुख उद्देश्य रहेको स्पष्ट पारे। उनले हिजो पनि मैदानमै रहेर काम गरेको र आज पनि त्यही प्रतिबद्धतासहित अघि बढिरहेको जनाउँदै उपभोक्ताको साथ, सहयोग र मायाको अपेक्षा गरेका छन्।
सामाजिक क्षेत्रमा सक्रिय तथा राम्रो छवि बनाएका सुवेदीले संस्थालाई सबैको साझा संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। “यहाँहरूले दिनुभएको विश्वासलाई सम्मान गर्दै सबैलाई समेटेर एकताबद्ध रूपमा काम गर्नेछु,” उनले जोड दिए।
उनको उम्मेदवारीसँगै मुर्गिया खानेपानीको नेतृत्व प्रतिस्पर्धा थप रोचक बनेको छ। स्थानीयस्तरमा उनको अनुभव, सामाजिक छवि र निरन्तर सक्रियतालाई सकारात्मक रूपमा हेरिएको छ।












