काग्रेस युवा नेता पौडेलको एमाले कार्यकर्तालाइ आग्रह, देशलाई सास फेर्न दिनुहोस्, विध्वंस अब नदोहोरियोस्

सैनामैना । नेपाली काग्रेस सैनामैना नगर सचिव तथा युवा नेता अर्जुन पौडेलले नेकपा एमालेका कार्यकर्ता तथा समर्थकहरूलाई देशप्रति जिम्मेवार र संवेदनशील बन्न अपिल गर्दै शान्ति र स्थिरताको पक्षमा उभिन आग्रह गरेका छन्।

भदौ २३ र २४ गते देशले भोग्नुपरेको पीडा र विध्वंसलाई स्मरण गर्दै उनले भावुक शब्दमा भनेका छन्, “देशले धेरै सहिसक्यो, धेरै देखिसक्यो अब फेरि त्यही गल्ती दोहोर्याउने छुट हामी कसैलाई छैन। आउनुहोस्, देशलाई सास फेर्न दिनुहोस्, घाउमा मलम लगाउने समय आएको छ।”
उनले देश कुनै पनि दल, समूह वा स्वार्थभन्दा माथि हुने स्पष्ट पार्दै असहमति र असन्तुष्टि व्यक्त गर्दा पनि संयम, समझदारी र कानुनी मार्ग रोज्नुपर्नेमा जोड दिएका छन्। “यदि अन्याय भएको महसुस हुन्छ भने कानुन छ, अदालत छ, प्रक्रिया छ—त्यही बाटो हिँडौं। लोकतन्त्रको सुन्दरता नै यही हो,” उनले उल्लेख गरेका छन्।

पौडेलले विरोध गर्नु लोकतान्त्रिक अधिकार भए पनि हिंसा, अराजकता र द्वन्द्वले अन्ततः जनतालाई नै पीडा दिने बताउँदै चेतावनी दिएका छन्। “हामी सबै एउटै समाजका सदस्य हौं। तपाईंहरू बिना यो समाज अधुरो छ। त्यसैले भिडन्त होइन, सहकार्य र सहअस्तित्व रोजौं,” उनले भने।
उनले एमालेजस्तो ठूलो राजनीतिक शक्तिले अझ जिम्मेवार, सहिष्णु र लोकतान्त्रिक चरित्र देखाउनुपर्ने उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनको सम्मान गरिनुपर्ने तर सर्वसाधारणमाथि आक्रमण, सडक अवरोध र सवारी साधन जलाउने जस्ता गतिविधिले जनताको विश्वास कमजोर बनाउने बताए।

अन्त्यमा उनले सबैलाई एकताको सन्देश दिँदै आग्रह गरेका छन्— “देश बनाउने जिम्मा हामी सबैको हो। रिस, आक्रोश र द्वेषभन्दा माथि उठेर शान्ति, समझदारी र सहकार्यको बाटो रोजौं। अब विध्वंस होइन, विकासको यात्रा सुरु गरौं।”

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation