मुर्गिया खानेपानीमा सुवेदी प्यानललाई जिताउन अपिल, “अनुभव र सक्षम नेतृत्वको आवश्यकता”

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व चयनको सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार देविदत्त सुवेदीले आफ्नो प्यानललाई विजयी गराउन सम्पूर्ण उपभोक्तामा अपिल गरेका छन्।

यसअघि उपाध्यक्ष पदमा रहेर काम गरिसकेका सुवेदीले संस्थाको काम, चुनौती र आवश्यकता बारे आफू जानकार रहेको उल्लेख गर्दै आफ्नो अनुभवका आधारमा आफू अन्य उम्मेदवारभन्दा योग्य रहेको दाबी गरेका छन्।

उनले सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने स्पष्ट पार्दै, आफू व्यक्तिगत रूपमा कुनै दलसँग आवद्ध भए पनि उम्मेदवारी भने दलगत आधारभन्दा माथि उठेर दर्ता गराएको जानकारी दिए।

“खानेपानी जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक भागबण्डा होइन, सक्षम र काम गर्न सक्ने नेतृत्व आवश्यक हुन्छ,” सुवेदीले भने। उनले उपभोक्तालाई विगतमा गरेको कामको मूल्याङ्कन गर्दै सक्षम नेतृत्वलाई जिताउन आग्रह गरेका छन्।

सुवेदीले स्वच्छ पिउने पानीको दीर्घकालीन व्यवस्था, सेवा विस्तार, व्यवस्थापन सुधार लगायतका थुप्रै योजनासहित आफू अघि बढेको बताए। उनका अनुसार संस्थालाई पारदर्शी, प्रभावकारी र उपभोक्तामैत्री बनाउने मुख्य लक्ष्य रहेको छ।

उनको अपिलसँगै मुर्गिया खानेपानीको चुनावी माहोल थप तातेको छ भने उपभोक्ताबीच नेतृत्व चयनलाई लिएर चासो बढ्दो देखिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation