सुवेदी नेतृत्व प्यानलको घरदैलो अभियान तीव्र, सम्पूर्ण टिमसहित मत माग्दै

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व चयनको सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार देविदत्त सुवेदी नेतृत्वको प्यानलले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ। निर्वाचन कार्यतालिका अनुसार प्यानलले औपचारिक रूपमा अभियान सुरु गरेको हो।

सुवेदी प्यानलले बिहान सैनामैना–३ स्थित दुर्गा मन्दिरमा आशीर्वाद लिँदै घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ। त्यसपछि टोलीले विभिन्न टोलमा पुगेर उपभोक्तासँग भेटघाट गर्दै समर्थन मागिरहेको छ।

यस प्यानलमा अध्यक्षमा देविदत्त सुवेदी, उपाध्यक्षमा बसन्ता रेग्मी क्षेत्री, सचिवमा मोहन कुमार सिँजाली, कोषाध्यक्षमा विष्णु कुमारी थापा र सह–सचिवमा सरिता घिमिरे आचार्य उम्मेदवार रहेका छन्।

त्यसैगरी सदस्यतर्फ भीम बहादुर पुर्जी, नारायण गिरी, राम प्रसाद डंगोरीया , आशा शाही, देवका घिमिरे, तुल्सा गौतम सुनार, सुमित्रा थापा र फूलमाया बिक उम्मेदवार रहेका छन्। लेखा समितितर्फ भिख्खु प्रसाद चौधरी, राधेश्याम थारु र विष्णु कुमारी शर्मा ज्ञवाली उम्मेदवार रहेका छन्।

यसअघि उपाध्यक्ष पदमा रहेर काम गरिसकेका सुवेदीले संस्थाको काम, चुनौती र आवश्यकताबारे आफू जानकार रहेको बताउँदै आफ्नो अनुभवका आधारमा सक्षम नेतृत्व दिन सक्ने दाबी गरेका छन्।

उनले सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने उल्लेख गर्दै आफू कुनै दलसँग आवद्ध भए पनि उम्मेदवारी भने स्वतन्त्र रूपमा दर्ता गराएको स्पष्ट पारे।

सुवेदी प्यानलले स्वच्छ खानेपानी, पारदर्शी व्यवस्थापन र उपभोक्ता हितलाई केन्द्रमा राखेर योजना अघि सारेको जनाएको छ। घरदैलो अभियानसँगै चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation