
सैनामैना । सैनामैनामा रहेको निर्वाण कानुनी समाजको आयोजनामा “निर्वाण लिगल फेस्ट” आयोजना हुने भएको छ। विद्यार्थी तथा युवाहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाण कानुनी समाजले जनाएको छ।
कार्यक्रममा सहभागीहरूका लागि सूचनाको हक तथा बजेट माग गर्ने प्रक्रिया, वाणिज्यसम्बन्धी आधारभूत ज्ञान, संवैधानिक तथा राजनीतिक विश्लेषण, गलत सूचना (मिसइन्फर्मेसन) सम्बन्धी सचेतना, मस्यौदा लेखन, तनाव व्यवस्थापन, सिभी लेखन र रोजगार अन्तर्वार्ता तयारीसहित प्राविधिक साक्षरताका विभिन्न सत्रहरू सञ्चालन गरिने समाजका सचिव एवं कार्यक्रम संयोजक नवीन पौडेलले जानकारी दिनुभयो।
चैत २० र २१ गते सञ्चालन हुने उक्त कार्यक्रम दुई दिने रहनेछ भने ४५ जना प्रशिक्षार्थीहरू सहभागी गराइने समाजका अध्यक्ष विजय सुनारले बताउनुभयो।
सैनामैना नगरपालिका–२ स्थित बावरी पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रम नगर प्रमुख फडेन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
यसअघि आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष विजय सुनारको अध्यक्षता रहेको थियो भने समाजसेवी पवन ज्ञवाली, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा समाजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन निर्वाण कानुनी समाजका सदस्य निश्चल ज्ञवालीले गर्नुभएको थियो।
यो कार्यक्रमले सैनामैनाका युवाहरूलाई व्यवहारिक सीप, कानुनी ज्ञान र करियर विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।












