
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार देविदत्त सुवेदी नेतृत्वको प्यानलले विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। “शुद्ध पानी, स्वच्छ वातावरण, पारदर्शी संस्था र उपभोक्ताको सम्मान” भन्ने मूल नारासहित सार्वजनिक गरिएको एजेन्डाले संस्थाको सुधार र दीगो व्यवस्थापनमा केन्द्रित योजना अघि सारेको छ।
प्यानलले सबै उपभोक्तालाई नियमित, पर्याप्त र गुणस्तरीय खानेपानी उपलब्ध गराउनेदेखि वितरण प्रणालीमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएको छ। आवश्यकताअनुसार पानीको गुणस्तर परीक्षण, फिल्टर जडान र प्रयोगशाला व्यवस्थापनलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ।
त्यस्तै, संस्थालाई पूर्ण पारदर्शी बनाउँदै आय–व्यय विवरण डिजिटल माध्यमबाट सार्वजनिक गर्ने, महत्वपूर्ण निर्णयमा उपभोक्ताको सहभागिता सुनिश्चित गर्ने तथा विधि र नियमअनुसार सञ्चालन गर्ने योजना अघि सारिएको छ। भ्रष्टाचार, अपारदर्शिता र पक्षपात अन्त्य गर्ने स्पष्ट अडानसमेत प्रतिबद्धतामा समेटिएको छ।
मर्मत–सम्भारलाई प्रभावकारी बनाउँदै पाइपलाइन, ट्यांकी, मोटरलगायत संरचनाको आधुनिकीकरण गर्ने, डिजिटल नक्शा प्रणालीबाट समस्या पहिचान गर्ने तथा अधुरा योजनाहरू समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै, कालो पानी समस्या समाधानका लागि आधुनिक प्रविधि प्रयोग गरिने जनाइएको छ।
सरसफाइ तथा स्वास्थ्य सचेतनालाई प्राथमिकता दिँदै टोल–टोलमा अभियान सञ्चालन गर्ने, ढल व्यवस्थापन सुधार गर्ने, सेप्टिक ट्यांकी सरसफाइका लागि आवश्यक साधन तथा एयचतबदभि त्यष्भित सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
उपभोक्तामैत्री सेवा प्रवाहका लागि मोबाइल एपमार्फत बिलिङ, गुनासो व्यवस्थापन र सेवा सहज बनाइने, न्यूनतम शुल्क घटाउने तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गर्ने घोषणा गरिएको छ।
दीर्घकालीन योजनाअन्तर्गत नयाँ पानी स्रोत खोजी, ट्यांकी क्षमता वृद्धि, डिप बोरिङ, दोहोरो पाइपलाइन विस्तार तथा रिचार्ज पोखरी निर्माण गर्ने लक्ष्यसमेत प्यानलले अघि सारेको छ।
यसका साथै, सबै उपभोक्तालाई समान व्यवहार, संस्थामा मितव्ययी र योजनाबद्ध खर्च, कर्मचारी क्षमता विकास र सामाजिक सुरक्षा कोषको व्यवस्था जस्ता विषय पनि प्रतिबद्धतामा समावेश गरिएको छ।
आसन्न निर्वाचनमा सुवेदी प्यानलले पारदर्शी, सक्षम र जनउत्तरदायी संस्था निर्माण गर्ने लक्ष्यसहित मतदातासमक्ष आफ्ना एजेन्डा प्रस्तुत गरेको हो।












