
विमल गैर, सैनामैना । सैनामैनामा पहिलो पटक आयोजना हुन लागेको ‘रैथाने सडक खाना महोत्सव–२०८२’ को सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो । महोत्सवको उद्घाटन आइतबार साँझ ५ बजे सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माबाट गरिने आयोजकले जनाएको छ ।
सैनामैना होटल तथा रेस्टुरेन्ट व्यवसाय संघको आयोजनामा हुने उक्त महोत्सव चैत २९, ३० र २०८३ वैशाख १ गतेसम्म तीन दिन सञ्चालन हुनेछ । सैनामैना–४, मुर्गियास्थित लुम्बिनी रोड क्षेत्रमा आयोजना हुने महोत्सवमा करिब १८ देखि २० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा करिब २५ देखि ३० वटा स्टलमार्फत विभिन्न जातजाति तथा समुदायका मौलिक तथा परम्परागत परिकारहरू प्रस्तुत गरिनेछन् । विशेषगरी थारु, नेवारी र मगर समुदायका परिकारसँगै ढिकरी, ढिडो, सेल, कोदो तथा फापरका परिकारहरू मुख्य आकर्षण रहनेछन् । साथै, स्थानीय स्तरमा उत्पादन गरिएका विभिन्न स्वादिष्ट खानाका परिकारले महोत्सवलाई थप रोचक बनाउने आयोजकको विश्वास छ ।
महोत्सवको मुख्य उद्देश्य स्थानीय मौलिक खानाको प्रवर्द्धन, आन्तरिक पर्यटन विकास तथा स्थानीय व्यवसायलाई टेवा पुर्याउनु रहेको मेला मुल आयोजक समितिकी संयोजक माया केसीले जानकारी गराउनुभयो।
सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । चैत २९ गते लोकदोहोरी गायक श्याम राना, उज्ज्वल गिरी, विष्णु सिर्पाली लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ भने चैत ३० गते र्यापर भ्युमा, लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, चक्र बम, अनिल पहाडी तथा अन्य कलाकारहरूको प्रस्तुति रहनेछ ।
त्यसैगरी वैशाख १ गते बसन्त श्रेष्ठ, रक्त व्यान्ड सुरेश परियार, शारदा काफले, मिस्टर पाण्डे लगायत विभिन्न सांगीतिक प्रस्तुति, डान्सरहरूको आकर्षक नृत्य र स्थानीय सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन् । नेवारी, मगर समुदायको सोरठी नाच तथा थारु समुदायको विशेष झाँकी पनि महोत्सवको अर्को आकर्षण हुनेछ ।
महोत्सव सञ्चालनका लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति, संघसंस्था, मिडिया, स्थानीय सरकार तथा व्यवसायीहरूको सहयोग रहने आयोजकले जनाएको छ ।
आयोजकले महोत्सवलाई सफल बनाउन सम्पूर्ण सञ्चारकर्मी, स्थानीयवासी, व्यवसायी तथा सरोकारवालाहरूलाई हार्दिक निमन्त्रणा समेत दिएको छ ।












