
पाल्पा। स्थानीय युवाहरूको सक्रिय पहलमा कचल फाँट पुनः एकपटक खेलमय बन्ने भएको छ। कचल फाँट युवा क्लबको आयोजनामा बुद्ध जयन्ती (वैशाख पूर्णिमा) को अवसर पारेर “दोस्रो कचल फाँट भलिबल कप–२०८३” सञ्चालन हुने भएको हो।
खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको रूपमा आयोजना हुन लागेको यस प्रतियोगितामा विभिन्न क्षेत्रका क्लबहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत सामाजिक एकता सुदृढ गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगिता वैशाख १४ गतेदेखि १८ गतेसम्म तिनाउ १ कचल फाँट भलिबल ग्राउन्डमा सञ्चालन हुनेछ। खेलहरू हरेक दिनि बिहान १० बजेदेखि सुरु हुनेछन्। टिटि सिस्टममा खेलाइने खेल पहिलो राउण्ड समिए पछि पोल सिस्टमको आधारमा खेलाइने छ । टिममा १० जना खेलाडी अनिवार्य रहने व्यवस्था गरिएको छ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन आयोजकले नगदसहितका पुरस्कारको व्यवस्था गरेको छ। जसअनुसार विजेताले रु ३३ हजार, उपविजेताले रु २२ हजार, तेस्रो स्थान हासिल गर्ने टिमले रु ११ हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमले रु ५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, डिफेन्डर, सेटर, ब्लकर र स्पाइकरलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि रु २५५० दर्ता शुल्क तोकिएको छ। आयोजकका अनुसार समयमै दर्ता गराई प्रतियोगितालाई सफल बनाउन सबैलाई आग्रह गरिएको छ।
स्थानीय स्तरमा यस्ता खेलकुद गतिविधिले युवाहरूमा उत्साह थप्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।












