
अमृत गिरी, बुटवल ।
नेपालको समकालीन राजनीतिक इतिहासमा आर्थिक व्यवस्थापन, पूर्वाधार विस्तार र दीर्घकालीन रणनीतिक परियोजनाको सुरुआतसँग जोडिएको नाममध्ये एक हो विष्णुप्रसाद पौडेल ।
विशेषतः रूपन्देही–बुटवल क्षेत्रलाई केन्द्रमा राखी राष्ट्रिय स्तरका आयोजना भित्र्याउने, बजेट सुनिश्चित गर्ने र कार्यान्वयनमा निरन्तर दबाब सिर्जना गर्ने भूमिकाका कारण यो क्षेत्र आज संघीय नेपालकै एक उदीयमान आर्थिक हबका रूपमा स्थापित हुँदै गएको छ ।
उनै पौडेलको नेतृत्वमा पछिल्ला १२ वर्ष (२०७०–२०८२) मा रूपन्देही–बुटवल क्षेत्रले भौतिक पूर्वाधार, औद्योगिक लगानी, पर्यटन र शहरी विकासका क्षेत्रमा संरचनात्मक फड्को मारेको तथ्यांकहरूले देखाउँछ ।
विकासलाई ‘रिबन काट्ने’ परम्परागत शैलीबाट निकालेर योजनाबद्ध, स्रोत सुनिश्चित र चरणबद्ध कार्यान्वयनतर्फ लैजानु नै उनको विकास मोडेलको मूल आधार देखिन्छ ।
पौडेलले रुपन्देहीबासीलाई जारी गरेको अपिलसहितको श्वेतपत्र अनुसार २०७०–२०८२ अवधिमा १०० अर्ब रुपैयाँभन्दा बढी कुल पूर्वाधार लगानी, ५ वटा राष्ट्रिय गौरवका आयोजना र ५०,००० भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना भएको दाबी गरिएको छ । यसलाई उनले तथ्यांकमै सार्वजनिक गर्ने तयारी छ । संकल्प पत्रसहितको तथ्यांक पत्र सार्वजनिकको तयारी भइरहेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले जानकारी दिए ।
सडक पूर्वाधारमा सुरुङ युगको सुरुआत
सिद्धबाबा सुरुङमार्ग ७.३४ अर्ब लागतको परियोजना हो, जसको स्रोत सुनिश्चितता २०७८ सालमा अर्थमन्त्री हुँदा गरिएको उल्लेख छ । यो परियोजना पाल्पा, गुल्मी, स्याङ्जालगायत पहाडी जिल्लाका यात्रुलाई वर्षौंदेखिको पहिरो जोखिमबाट मुक्त गराउने रणनीतिक कदम हो । सुरुङमार्गलेः यात्रा समय घटाउने, इन्धन खर्च कम गर्ने, दुर्घटना दर घटाउने, पश्चिम पहाड–तराई कनेक्सनलाई स्थायी बनाउने, जस्ता बहुआयामिक लाभ दिने अपेक्षा गरिएको छ । पौडेलका ड्रिम प्रोजेक्टमध्येको यो एक महत्वपूर्ण आयोजना हो । यो अबको केही समयमै निर्माण सम्पन्न हुने चरणमा छ ।
नारायणगढ–बुटवल सडक
नारायणगढ–बुटवल सडक १७ अर्ब लागतको बहुचर्चित विस्तार योजना हो । अवस्था २०७०ः २ लेन, अवस्था २०८२ः ४/६ लेन विस्तार, प्रगति : करिब ५० प्रतिशत । यो सडकले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डलाई आधुनिकीकरण गर्दै औद्योगिक र पर्यटन यातायातलाई गति दिएको छ । सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
तिनाउ सिग्नेचर पुल
तिनाउ सिग्नेचर पुल २.५० अर्ब लागतको पर्यटकीय पुल हो । यसको उद्देश्य बुटवलको आधुनिक पहिचान निर्माण, आन्तरिक पर्यटन प्रवद्र्धन, शहरी सौन्दर्य अभिवृद्धि हो । यसको ठेक्का आह्वान भइसकेको छ भने बाँकी प्रक्रियाका काम सुरु भएका छन् । यसका साथै जितगढी–नुवाकोट गढीलगायतलाई बटौली सर्किटमा जोडेर पर्यटन र तिनाउमा जलसम्पदा झल्कने संरचनाको समेत निर्माण गर्ने तयारी छ ।
तिनाउ–दानव करिडोर
४.५० अर्ब लागतको यो करिडोर नदी नियन्त्रण र सडक कनेक्सनका लागि निरन्तर बजेट विनियोजन गरिएको परियोजना हो । यसले बस्ती संरक्षण, बाढी नियन्त्रण र यातायात सुधारमा प्रत्यक्ष योगदान पुर्याएको छ । यो नदी किनारबाट भैरहवा स्थित विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतीय सीमावर्ती क्षेत्रसम्म सहज सडक पूर्वाधारको लक्ष्य लिइएको महत्वपूर्ण आयोजना हो ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक
पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने संकल्पसहित बजेटको स्रोत सुनिश्चित गर्ने र काम सूचारु गराउने नेतृत्वदायी भूमिका पूर्वअर्थमन्त्री पौडेलकै थियो । सोही बमोजिम अहिले राजमार्गको विस्तार भइ एसियाली मापदण्डको बनिरहेको छ । यहीँ मध्येको प्रमुख खण्ड हो बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक खण्ड । अहिले यसको विस्तारको काम धमाधम भइरहेको छ ।
खानेपानी र शहरी पूर्वाधार
बुटवल खानेपानी आयोजनाको पूर्णतामा विशेष जोड दिइएको छ । ६.५० अर्ब लागतको दीर्घकालीन योजना अन्तिम चरणमा रहेको उल्लेख छ । २४ सै घण्टा स्वच्छ खानेपानी, जीर्ण संरचनाको प्रतिस्थापन, तीव्र शहरी विस्तारलाई आधार ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र १.११ अर्ब लागतको दक्षिण एसियाकै नमूना हलका रूपमा प्रस्तुत गरिएको छ । यसले बैठक, प्रोत्साहन सम्मेलनजस्ता क्षेत्रबाट पर्यटनलाई पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ । यहाँ निर्माण सम्पन्न भएको प्रदर्शनी केन्द्रले पनि यहाँको आर्थिक गतिविधिलाई चलायमान बनाएको छ ।
औद्योगिक राष्ट्रिय पुँजी विस्तार
भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा ८ अर्ब लागतको पूर्वाधारसहित सञ्चालनमा आएको छ । यहाँ १५ वटा निर्यातमुखी उद्योग सञ्चालनमा रहेका छन् । यसबाट व्यापार घाटा न्यूनीकरण भइरहेको र उत्पादनमुखी औद्योगिकरणमा टेवा पुगेको दाबी गरिएको छ ।
मोतिपुर औद्योगिक क्षेत्र
१२ अर्ब अनुमानित लागतको विशाल औद्योगिक पूर्वाधार परियोजना । यद्यपि स्थानीय विवादका कारण चुनौती आएको स्वीकार गरिएको छ । नागरिकको आवास, सम्पत्तीमा असर नपर्ने बरु उनीहरुको समेत स्वामित्व र अपनत्व हुनेगरी आयोजना अगाडि बढाउने नयाँ मोडल बनाउने तयारी गरिएको बताइएको छ ।
कालीगण्डकी–तिनाउ डाइभर्सन
१३८ अर्ब अनुमानित लागतको बहुउद्देश्यीय आयोजना । १ लाख हेक्टर खेतमा सिँचाइ सुविधा । १२६ मेगावाट विद्युत उत्पादन सम्भावना यो परियोजनालाई कृषि ‘गेम चेन्जर’को रूपमा प्रस्तुत गरिएको छ । जलसम्पदाको संरक्षण र सदुपयोग गर्दै सबैको हितमा केन्द्रित गर्ने अपरिहार्य योजना हो यो ।
लगानी वातावरण र निजी क्षेत्रको विस्तार
श्वेतपत्र अनुसार, राज्यले १ अर्ब पूर्वाधार बनाउँदा निजी क्षेत्रले १० अर्ब लगानी गरेको उल्लेख छ । क्षेत्रगत लगानीलाई पनि पौडेलले स्वेतपत्रमा सार्वजनिक गरेका छन् । कृषि तथा कोल्ड स्टोरतर्फ मात्रै यसक्षेत्रमा २.५ अर्ब भन्दा धेरै लगानी भइसकेको छ । यस्तै यातायात तथा लजिस्टिकमा ३ अर्ब भन्दा धेरै लगानी भइसकेको छ । सूचना प्रविधितर्फ १ अर्ब भन्दा धेरै लागनी भएको उल्लेख छ । मनोरञ्जन तथा पर्यटनतर्फ १.५ अर्बभन्दा धेरै लगानी भएको अनुमान छ । यसले पूर्वाधार–आधारित ‘इकोसिस्टम’ विकासको अवधारणा बलियो बनाएको देखिन्छ ।
सुशासन र वित्तीय अनुशासन
आयोजना बैंक (प्रोजेक्ट बैंक) अवधारणा लागू गदै पूर्व–सम्भाव्यता अध्ययन बिना बजेट विनियोजन नगर्ने नीति लिइएको उल्लेख छ । आन्तरिक लेखापरीक्षण र जनता अडिट अभ्यास, उद्योगसँग सहकार्य गरी ओजेटी तालिम अनिवार्य गराइएको छ । यसले स्रोत–साधनको सदुपयोग र उत्तरदायित्वमा सुधार ल्याउने लक्ष्य राखेको दाबी गरिएको छ ।
विकासको राजनीतिक दर्शन
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले विकासलाई चुनावी नाराभन्दा दीर्घकालीन संरचनात्मक परिवर्तनका रूपमा व्याख्या गरेका छन् । उनको दृष्टिमा ‘पूर्वाधार भनेको इँटा र सिमेन्ट मात्र होइन; त्यो रोजगारी, पर्यटन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने माध्यम पनि हो ।’
सकारात्मक सोचको आधार
बुटवल र लुम्बिनी प्रदेशमा देखिएका संरचनात्मक परिवर्तनहरूले पूर्वाधार–आधारित विकास मोडेलको परीक्षण भइसकेको संकेत दिन्छन् । यद्यपि केही परियोजनामा ढिलाइ र नीतिगत चुनौतीहरू रहेको स्वीकार गर्दै नेता पौडेलले सार्वजनिक–निजी साझेदारी मार्फत दिगो विकासका प्रभावकारी काम गरिने प्रतिवद्धता जनाएका छन् । १०० अर्बभन्दा बढी लगानी, ५ राष्ट्रिय गौरव आयोजना, ५०,००० भन्दा धेरै रोजगारी, औद्योगिक, पर्यटन र कृषि क्षेत्रमा बहुआयामिक विस्तार, जस्ता सूचकहरूले विकासको ठोस आधार तयार भएको उनको दाबी छ ।












