बुटवल। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीले शिक्षिकाको कुटाइबाट एउटा आँखाको ज्योती गुमाएको अभिभावकले बताएका छन् ।
शिक्षिका सञ्जु चौधरीले दुई बालकबीचको झगडा छुट्याउने क्रममा प्लास्टिकको लठ्ठीले हानेपछि बालकको देब्रे आँखामा चोट लागेको थियो ।बालकका बुवा नरेन्द्र चौधरीले चिकित्सकलाई उद्वृत गर्दै छोराको आँखाको दृष्टि स्थायी रूपमा गुमेको बताए । गत मंसिर १८ को घटना भए पनि विद्यालयले मिलापत्र गर्ने प्रयास गरेकाले बाहिर आउन ढिलाइ भएको बताइएको छ । विद्यालयले प्रारम्भमा स्थानीय अस्पताल हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा उपचार गराएको भए पनि पीडित पक्षले कानूनी प्रक्रिया अघि बढाएपछि चासो नदेखाएको आरोप छ ।
घटनाको न्यायका लागि पीडित पक्षले बाल अधिकारकर्मी, मानव अधिकार आयोग र प्रहरी प्रशासनमा उजुरी दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख हरिप्रसाद ज्ञवालीले घटनाबारे पहल भइरहेको बताए । घटनापछि इलाका प्रहरी कार्यालयले समेत उजुरी लिन ढिलाइ गरेको पीडित पक्षको गुनासो छ । उजुरी पुस १६ गते मात्र दर्ता गरिएको थियो । प्रहरीले शिक्षिका सञ्जु चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि अहिलेसम्म पक्राउ गरिएको छैन ।
घटनाको न्यायका लागि पीडित पक्षले बाल अधिकारकर्मी, मानव अधिकार आयोग, र प्रहरी प्रशासनमा उजुरी दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख हरिप्रसाद ज्ञवालीले घटनाबारे पहल भइरहेको बताए । अहिले सिविन नेपालको पहलमा बालकको उपचार भइरहेको छ । तर, घटना सार्वजनिक भएको एक महिनापछि पनि न्याय नपाउने चिन्ताले अभिभावक पिरोलिएका छन् ।
पीडितका बुवा नरेन्द्र चौधरीले यो घटना लुकाउन, मुद्दा दर्ता नगर्न विद्यालयको दवावमा प्रशासनले असहयोग गरेको दाबी गरे । तर विद्यालयका प्रधानाध्यापक सुजित गुप्ताले विद्यार्थीको सबै उपचारमा आफैं अगाडि लागेर गराएको र पहिले बाबुको उपचारपछि मात्रै अन्य प्रक्रियामा छलफल गरौंला भनेर प्रस्ताव राखेको बताए ।
‘उपचारमा लागेको सबै खर्च हामीले दिने भनेका छौं गरेका छौं, १२ सम्म निःशुल्क पढाउने र त्यसपछि विद्यालयमा उनलाई सक्दो जागिर दिने भनेका छौं तर अभिभावक पहिले ठूलो रकम माग गरेर बाहिर जानुभएको हो, सुरुमा उहाँहरुले १० करोड माग्नुभयो त्यो हाम्रो सबै सम्पत्ति बेचेर पुग्दैन, दोस्रो बसाईमा ६० लाखमा झर्नुभएको छ, हामीले पहिले उपचारका सबै काम सकेर अन्य सहमति गरौंला भनेका छौं’, उनले भने ।
उनले विद्यालयमा कुनै शिक्षकले जानेर विद्यार्थीमाथि जाइलाग्ने विषय नहुने भन्दै भएको गल्ती कानूनी प्रक्रियामा गएकाले त्यहीबाट टुंगिने बताए । इलाका प्रहरी कार्यालय बर्दघाटले यो विषयमा मुद्दा दर्ता भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जनाएको छ ।