विमल गैरे, रुपन्देही ।
चौथो रामपुर महोत्सव कप क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता माघ २० गतेबाट हुने भएको छ । आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालिगण्डकी उपत्यका विकासको आधार भन्ने मूल नाराका साथ चौथो रामपुर महोत्सव तथा व्यापार मेला २०८१ मा नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता चौथो रामपुर महोत्सव कप आयोजना गर्न लागिएको हो ।
भलिबललाई प्रर्बधन एवं कौशल विकासको लागि रामपुर उद्योग वाणिज्य संघको आयोजना, जिल्ला भलिबल संघ पाल्पाको सह आयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल संघको समन्वयमा चौथो रामपुर महोत्सव कप क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता माघ २० गते देखि २५ गते सम्म सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।
चौथो रामपुर महोत्सव कप विजेता टिमले २ लाख २२ हजार २२२ नगद पुरस्कार साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले हुने टिमले १ लाख ५५ हजार ५५५ नगद पुरस्कार साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै तृतिय र सान्तवना हुने टिमले पनि क्रमश १ लाख १ हजार १११ र ५५ हजार ५५५ नगद पुरस्कार साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक कमल रानाले जानकारी गराउनुभयो । उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विभिन्न विधामा उत्कृष्ट हनेलाई नगद ८ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ ।
आयोजक सस्थाले चौथो महोत्सव तथा व्यापार मेला’ र ’चौथो रामपुर महोत्सव कप’ खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पर्नको लागि आर्थिक, नैतिक र भौतिक रुपमा जोडिएर सहयोग गरिदिनु हुन समाजसेवी, व्यावसायिक, सरकारी तथा गैरसरकारी संघ संस्थामा सहयोगको लागि हार्दिक अपिल समेत गरेको छ ।