मङ्सिर ४ गते हुने चुनावका लागि आयोगले सरकारसँग १० अर्ब रुपैयाँ माग्यो

उपकार अनलाई, रुपन्देही ।
काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ ।

चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गरेको छ भने झन्डै दुई लाख जना जनशक्ति लाग्ने अनुमान गरेको छ ।

यस्तै चुनावमा ५७ प्रकारका निर्वाचन सामग्रीको प्रयोग हुनेछ । तीमध्ये आयोगबाट ४२ प्रकारका सामान र १५ प्रकारका सामान जिल्ला तहबाट खरिद गरिनेछ । प्रवक्ता शर्माले केन्द्रबाट खरिद गर्दा लागत कम हुने पाइएकाले त्यसअनुसार खरिद प्रक्रिया सुरु भइसकेको जनाउनुभयो ।

यस्तै एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा उम्मेदवारी दिने उम्मेदवारको चुनाव चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ । गएको वैशाख ३० गते भएको पालिका चुनावमा दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त चुनाव चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो भएको र बदरको सङ्ख्या पनि बढाएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको चुनाव चिह्न समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिनुभयो ।

सङ्घीय चुनावका लागि एक सय ६५, प्रदेशतर्फ तीन सय ३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी पाँच सय तीन प्रकारका मतपत्र छपाइ हुने आयोगले जनाएको छ । मतदान केन्द्रमा चार वटा अलग–अलग मतपत्र, मत सङ्केत गर्ने ठाउँ, र मतपेटिकाको व्यवस्था गरिने आयोगले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation