
विमल गैरे, सैनामैना।
“सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ दलित लक्षित सीपमूलक तालिम अन्तर्गत दलित महिलाहरूका लागि सञ्चालन गरिएको ३ दिने सरफ (डिटर्जेन्ट) बनाउने तालिम आज सम्पन्न भएको छ।
सैनामैना नगरपालिका वडा नं. ६ कार्यालय, कलौनीमा २०८३ जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको उक्त तालिमलाई वडा कार्यालयको आर्थिक सहयोग तथा दलित महिला संघ रुपन्देहीको आयोजनामा सम्पन्न गरिएको हो।
समापन कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपाल पोख्रेलले कुनै पनि काम सानो वा ठूलो नहुने भन्दै सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले अब अरूमाथि निर्भर नभई आफ्नै सीप र मेहनतबाट आम्दानी गर्न सकिने उल्लेख गर्दै टोल–टोलमा रहेका महिला समूहमार्फत सरफ उत्पादन गरी बजारमा बिक्री गर्न सके आर्थिक अवस्था सुधारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
वडा सदस्य आशिष पोख्रेलले महिलाहरूको जीवनस्तर उकास्न तथा स्वरोजगारका अवसर सिर्जना गर्न वडा कार्यालय निरन्तर लागिरहेको बताउनुभयो। यस्ता सीपमूलक तालिमले महिलाहरूको क्षमता अभिवृद्धिसँगै आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा कार्यपालिका सदस्य मायादेवी विक, वडा सदस्य गीता घिमिरे, नरबहादुर घर्ती लगायतले मन्तव्य व्यक्त गर्दै तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभएको थियो।
तालिमकी प्रशिक्षक जमुना विकले छोटो समय भए पनि सहभागीहरूले निकै चासोका साथ सीप सिकेको बताइन् ।
उनले भनिन्, “समय छोटो भए पनि सहभागी दिदीबहिनीहरूको सिक्ने उत्साह निकै राम्रो देखियो । सिकेको सीपलाई व्यवहारमा उतार्न सकियो भने यसले आयआर्जनमा टेवा पुर्याउनेछ ।”
त्यसैगरी, आयोजक संस्था दलित महिला संघ रुपन्देहीकी अध्यक्ष मनु खड्काले दलित महिलाहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई उत्पादनमूलक कार्यमा प्रयोग गरी आयआर्जनको माध्यम बनाउन सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो। साथै आगामी दिनमा पनि महिलाहरूको क्षमता विकास र सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।
तालिममा सहभागी महिलाहरूले सरफ उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेको बताउँदै यसलाई व्यवसायिक रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।












