
सैनामैना । रुपन्देहीको सैनामैनामा आयोजित बृहत् साइकल उत्सव ‘सैनामैना कोरा–२०८३’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। साइकल साथी सैनामैनाको आयोजनामा सम्पन्न कार्यक्रममा सैनामैनाका सबै वडाबाट आएका ५०० भन्दा बढी साइकलयात्री, खेलाडी, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
‘राइड फर नेचर, राइड फर हेल्थ’ भन्ने नारासहित सञ्चालन गरिएको ५० किलोमिटर लामो साइकल यात्रा सैनामैना–४ मुर्गियास्थित लुम्बिनी रोडबाट सुरु भई सैनामैनाका प्रमुख धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको अवलोकन गर्दै पुनः दुर्गा मन्दिर परिसरमा पुगेर समापन भएको थियो। सैनामैना रिङरोडलाई आधार बनाएर सञ्चालन गरिएको यात्राले स्थानीय पर्यटन, स्वास्थ्य र वातावरण संरक्षणको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्देश्य पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, स्वस्थ जीवनशैलीको विकास तथा साइकल संस्कृतिको विस्तार गर्नु रहेको साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायलाई खेलकुद, स्वास्थ्य र प्रकृतिप्रति थप जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नुभयो।
यात्राभर स्वयंसेवक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा स्थानीय समुदायको सक्रिय सहयोगका कारण कार्यक्रम सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। सहभागीहरूलाई विभिन्न स्थानमा स्वागत, फलफूल, पेयपदार्थ तथा प्राथमिक स्वास्थ्य सेवाको व्यवस्था गरिएको थियो।
समापन समारोहमा एक दिनअघि सम्पन्न प्रथम सैनामैना MTB XC म्याराथन–५० किलोमिटरका विजेताहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा कञ्चन गाउँपालिका–रुद्रपुरका शिशिर खत्री प्रथम, रमेश पाण्डे द्वितीय तथा बिनोद थापा तृतीय भएका थिए।
समापन कार्यक्रममा राष्ट्रिय स्तरका गायक बसन्त श्रेष्ठलगायत कलाकारहरूको सांगीतिक प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो। सांगीतिक माहोलसँगै सहभागीहरूले साइकल यात्राको उत्साहलाई थप ऊर्जा प्रदान गरेका थिए।
आयोजक संस्था साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी, स्वयंसेवक, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय समुदाय, प्रायोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै सैनामैना कोरालाई आगामी वर्षहरूमा अझ बृहत् र राष्ट्रियस्तरको साइकल पर्वका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमले सैनामैनालाई खेल पर्यटन, साइकल संस्कृति र सामुदायिक सहभागिताको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ।












