१३ दिनमै पूरा भयो प्रतिबद्धता: सञ्चालनमा आयो सैनामैनाको घमाहा पुल, पूर्व–पश्चिम यात्रा पुनः सहज

सैनामैना, रुपन्देही। रुपन्देहीको सैनामैना नगरपालिका क्षेत्रमा रहेको घमाहा पुल मर्मत सम्पन्न भएसँगै शुक्रबारदेखि सवारीसाधन सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सर्वसाधारणले पुनः सहज रूपमा आवतजावत गर्न थालेका छन्।

गत बैशाखमा अविरल वर्षा सैगै पुल भासिएर क्षति पुगेपछि सवारी आवागमन प्रभावित भएको थियो। पुल बन्द हुँदा स्थानीयवासी, यात्रु, व्यवसायी तथा पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने हजारौँ यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो।

यसैबीच, सैनामैना प्रेस क्लबको पहलमा गत साउन २० गते सैनामैनाको सडक सुरक्षा तथा घमाहा पुलको मर्मत कार्यलाई केन्द्रमा राखेर खुला बहस कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, सम्बन्धित सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि तथा नागरिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधिले १५ दिनभित्र पुल मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धताअनुसार १३ दिनमै मर्मत कार्य सम्पन्न गर्दै पुल सञ्चालनमा ल्याइएको हो।

पुल सञ्चालनमा आएपछि स्थानीयवासीले राहतको अनुभूति गरेका छन्। दैनिक आवतजावत, व्यापारिक गतिविधि तथा आपतकालीन सेवासमेत सहज बनेको उनीहरूको भनाइ छ। समयमै प्रतिबद्धता पूरा गरेको भन्दै स्थानीयले निर्माण कम्पनीप्रति धन्यवाद व्यक्त गरेका छन् भने यसमा निरन्तर खबरदारी र समन्वयकारी भूमिका निर्वाह गरेको सैनामैना प्रेस क्लबको पहलको पनि प्रशंसा गरेका छन्।

सैनामैना प्रेस क्लबले स्थानीय सरोकारका विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याउने, सार्वजनिक उत्तरदायित्व बढाउने तथा समाधानमुखी संवादको वातावरण सिर्जना गर्ने उद्देश्यले खुला बहस कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। घमाहा पुल समयमै सञ्चालनमा आउनु नागरिक, सरोकारवाला निकाय र निर्माण कम्पनीबीचको समन्वय तथा सार्वजनिक प्रतिबद्धताको सकारात्मक उदाहरण बनेको स्थानीयको भनाइ छ।

पुल सञ्चालनमा आएसँगै पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पुनः सामान्य बनेको छ भने यस क्षेत्रका बासिन्दाले लामो समयदेखि भोग्दै आएको आवागमनको समस्या अन्त्य भएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation