तिम्ले त मन बेग्लै बनायौ गीत सार्वजनिक, बदलिएको मनको पीडा बोल्छ गीतले

सैनामैना । प्रेम, विश्वास र सम्बन्धमा आउने परिवर्तनको भावलाई मार्मिक शब्द र संगीतमार्फत प्रस्तुत गरिएको नयाँ लोकदोहोरी गीत ‘तिम्ले त मन बेग्लै बनायौ’ सार्वजनिक गरिएको छ।

गीतमा एक समय साथ दिने वाचा गरेको प्रिय व्यक्तिले अन्ततः साथ छाडेपछि उत्पन्न हुने पीडा, एक्लोपन र बदलिएको मनोभावलाई भावुक ढंगले प्रस्तुत गरिएको छ। “हिजोसम्म साथ दिन्छु भन्नेले आज किन एक्लै बनायौ” भन्ने भावले सम्बन्धमा आएको दूरी र विश्वास टुट्दाको अनुभूति व्यक्त गर्छ।

त्यस्तै, सुरुवातमा गहिरो माया बसे पनि समयसँगै सम्बन्धमा चिसोपन आउँदा मनमा घृणा पलाएको अवस्था, हिजो सँगै रमाइलो गरेको चौतारी आज सुनसान बनेको अनुभूति तथा सम्झनाले सताइरहने भावनालाई गीतका शब्दमा सशक्त रूपमा समेटिएको छ।

गीतमा रेशम परियार र इन्द्रमति किसानको स्वर रहेको छ। शब्द बिराट पहारी र रेशम परियारले सिर्जना गरेका हुन् भने लय रेशम परियारकै रहेको छ। गीतलाई एमन खनालले संगीत संयोजन (एरेन्ज) गरेका छन्।

म्युजिक भिडियोमा बिराट पहारी, रुपा बुढा, अमृत लोप्चन र माया परियारको अभिनय रहेको छ। प्रेम सम्बन्धमा आउने उतारचढाव, विछोड र भावनात्मक संघर्षलाई दृश्यमार्फत समेत प्रभावकारी रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

सार्वजनिक भएको यो गीतले प्रेममा धोका, सम्झना र एक्लोपनको अनुभूतिलाई आत्मीय ढंगले प्रस्तुत गरेकाले दर्शक तथा श्रोताको मन छुने अपेक्षा गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation