
विमल गैरे, सैनामैना ।
शनिबार दिउँसो करिब १२ बजेको समय । सैनामैना नगरपालिका वडा नं.–३, सुनगाभा टोल पुग्दा एउटा दृश्यले मन नै भारी बनायो । एक जना वृद्ध लौराको सहारामा घुँडासम्मको पानी छिचोल्दै घरतर्फ जाँदै थिए । पहिलो नजरमा लाग्यो, उहाँ किन यस्तो जोखिमपूर्ण बाटो हिँडिरहनुभएको होला ? केही स्थानीयसँग बुझ्दा थाहा भयो—त्यो पानी नै उहाँको घर पुग्ने एकमात्र बाटो रहेछ ।
पूर्व–पश्चिम राजमार्गको मुर्गियाबाट करिब ५०० मिटर भित्र रहेको सुनगाभा टोलको राधाकृष्ण पथमा अहिले करिब १५–१६ घरधुरी वर्षायाम सुरु नहुँदै डुबानको समस्याबाट पिडित छन् । सामान्य वर्षा हुँदा नै सडक जलमग्न हुने र घरभित्र समेत पानी पस्न थालेपछि स्थानीयको दैनिकी नै कष्टकर बनेको छ ।
स्थानीयका अनुसार बालबालिकालाई विद्यालय पुर्याउन र ल्याउन घरमा एक जना अभिभावक अनिवार्य बस्नुपर्ने अवस्था छ । घरमा कोही भए पनि गेट वा ढोका बन्द गरेर बस्नु पर्ने अवस्था छ । किनकि पानीको सतह बढी छ बालबच्चा पानीमा खेल्न निस्किए डुव्न सक्ने खतरा रहेको छ । पानीको सतह वढेमा घरभित्र क्षति हुने जोखिम सधैं रहन्छ ।
स्थानीयले पटक–पटक वडा कार्यालय र नगरपालिकामा जानकारी गराए । जनप्रतिनिधिलाई भेटे, समस्या सुनाए । तर समाधानको कुनै ठोस पहल नभएपछि अन्ततः उनीहरूले सञ्चारकर्मीलाई गुहार्न बाध्य भए ।
यसै सन्दर्भमा सैनामैना प्रेस क्लबका उपाध्यक्ष टिका खरेल, सचिव विमल गैरे र सदस्य प्रदीप ज्ञवालीसहितको टोली स्थलगत अनुगमनका लागि उक्त क्षेत्रमा पुगेको थियो । टोली पुगेपछि स्थानीयले केही राहतको अनुभूति व्यक्त गरे ।
एक स्थानीय महिलाले भावुक हुँदै भनिन्, वडा अध्यक्ष र नगरपालिकाका प्रतिनिधिहरू आउनुभएन । तपाईँहरू आउनुभयो, अब हाम्रो कुरा सम्बन्धित ठाउँसम्म पुर्याइदिनुहोस् ।
स्थलगत निरीक्षणका क्रममा स्थानीयले पानी जमेको बाटो देखाए । दुर्गन्धयुक्त र फोहोर मिसिएको पानीका कारण टोली स्वयं पनि त्यही बाटो भएर हिँड्न सकेन । तर दृश्यले समस्या कति गम्भीर छ भन्ने स्पष्ट देखाइरहेको थियो ।
वि.सं. २०७० सालमा पाल्पाबाट बसाइँ सरेर आएका चेतनारायण पाण्डे निराश देखिन्थे । उनले गुनासो गर्दै भने, हाम्रो कुरा कसले सुन्छ र ? वडामा बजेट छैन भन्नुहुन्छ । नगरपालिका भनेको बाटापारि मात्रै रहेछ । नयाँ सरकार आयो, तर हामीसम्म कहिल्यै आइपुगेन । हामीले भोट हालेर जितायौं, तर जनप्रतिनिधि जनताको दुःखमा देखिँदैनन् ।
अर्का स्थानीय ढालेन्द्र केसीको अनुभव पनि उस्तै पीडादायी छ । उनी २०७३ सालदेखि त्यही क्षेत्रमा बसोबास गर्दै आएका छन् । हामी यहाँ सुनगाभा विद्यालय नजिक भएकाले बसाइँ सरेका हौं । यसअघि कहिल्यै यस्तो डुबान भएको थिएन । अहिले घरभित्रै पानी पस्न थालेको छ । अझै ठूलो वर्षा भएको छैन । लगातार दुई–चार दिन पानी परे हाम्रो घर नै डुब्ने अवस्था आउँछ । केसीका अनुसार सुनगाभा विद्यालय जाने सडकमा नाली निर्माण भएपछि पानीको निकास अवरुद्ध भएको र त्यसपछि समस्या झन् बढेको हो । आफूहरूले पटक–पटक सम्बन्धित निकायमा जानकारी गराए पनि कसैले गम्भीरतापूर्वक नलिएको उनको आरोप छ ।
२०७८ सालमा गुल्मीबाट बसाइँ सरेर आएका किशन दगामीको पीडा पनि फरक छैन । यदि यहाँ यस्तो डुबान हुने थाहा भएको भए हामीले जग्गा किन्ने नै थिएनौं । अब जे भए पनि यसको समाधान स्थानीय सरकारले गर्नुपर्छ । जनताको सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार हो ।
स्थलगत अवलोकन गर्दा डुबानको समस्या सामान्य देखिँदैन । सडकभरि जमेको पानी, घरको आँगनसम्म पुगेको डुबान, जोखिमपूर्ण आवतजावत र स्थानीयको त्रास—यी सबैले सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् ।
प्रश्न उठ्छ—नागरिक वर्षायाम सुरु नहुँदै डुबानमा परिरहेका बेला स्थानीय सरकार किन मौन छ ?
सामान्यतया नागरिकले सबैभन्दा पहिले आफ्ना समस्या वडा कार्यालयमा राख्छन् । त्यसपछि नगरपालिका पुग्छन् । त्योभन्दा माथिका तहसम्म अधिकांश नागरिकको पहुँच सहज हुँदैन । त्यसैले समस्या पहिचान, समन्वय र समाधानको पहिलो जिम्मेवारी वडा तथा नगरपालिकाकै हो । यदि स्थानीय तहको स्रोतले समाधान सम्भव छैन भने प्रदेश र संघीय सरकारसँग समन्वय गर्नु पनि निर्वाचित जनप्रतिनिधिकै दायित्व हो ।
यस विषयमा सुनगाभा टोल विकास संस्थाका अध्यक्ष प्रदीप गौतमसँग पनि छलफल गरिएको थियो । उहाँका अनुसार वडा अध्यक्ष तमबहादुर पुर्जा दुई–तीन पटक स्थलगत निरीक्षणमा आउनुभएको छ । नगरपालिकालाई पनि जानकारी गराइएको छ ।
गौतमले भने, पूर्वाधार विकास शाखाका प्रमुख सुरज न्यौपाने आउनुहुन्छ, स्थलगत अध्ययन गरेर लागत अनुमान तयार हुन्छ भन्ने जानकारी पाएका थियौं । तर अहिलेसम्म उहाँ आउनुभएको छैन । अब सोमबार हामी आधिकारिक पत्रसहित नगरपालिकामा जाने तयारीमा छौं ।
करिब दुई घण्टासम्म स्थानीयसँग छलफलपछि तत्कालका लागि पानीको निकास खुलाउन नालीको केही भाग व्यवस्थापन गरी पानी बगाउने अस्थायी उपाय अपनाउन सुझाव दिइएको छ । तर यो स्थायी समाधान होइन ।
स्थलगत अवलोकनबाट स्पष्ट देखिन्छ—यो क्षेत्रलाई दीर्घकालीन रूपमा डुबानमुक्त बनाउन वैज्ञानिक ढंगले सडक तथा ढल निकास प्रणाली पुनःनिर्माण गर्नुपर्ने आवश्यकता छ । समयमै पहल नभए आगामी दिनमा ठूलो वर्षासँगै घर, सम्पत्ति र मानव सुरक्षामै जोखिम बढ्न सक्छ ।
स्थानीय सरकारले नागरिकको जीउधनको सुरक्षा आफ्नो पहिलो प्राथमिकता बनाउनुपर्छ । जनताको पीडा चुनावी भाषणमा मात्र होइन, व्यवहारमा पनि सम्बोधन हुनुपर्छ । अहिले सुनगाभा टोलका स्थानीयले मागेको कुरा कुनै विलासिता होइन—सुरक्षित हिँड्ने बाटो र डुबानमुक्त जीवन हो ।
अब हेर्न बाँकी छ, सम्बन्धित निकायले यो पीडालाई केवल गुनासोको रूपमा लिन्छन् कि तत्काल समाधानतर्फ ठोस कदम चाल्छन् ।












