
विमल गैरे, सैनामैना। इनर ह्विल क्लब अफ सैनामैनाको सातौँ पदस्थापना तथा नेतृत्व हस्तान्तरण समारोह सैनामैना–२ स्थित त्रिमूर्ति पार्टी प्यालेसमा सम्पन्न भएको छ।
समारोहमा वर्ष २०२५/२६ की अध्यक्ष दुर्गामाया श्रेष्ठले वर्ष २०२६/२७ की अध्यक्ष सीता खनाललाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा निवर्तमान अध्यक्ष दुर्गामाया श्रेष्ठले आफ्नो एकवर्षे कार्यकालमा सम्पन्न भएका सामाजिक तथा सेवामूलक गतिविधिहरू भिडियो प्रस्तुतीमार्फत सार्वजनिक गर्नुभयो। साथै आफ्नो कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने टिम सदस्यहरूलाई मायाको चिनो प्रदान गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।
नवनियुक्त अध्यक्ष सीता खनालले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालका योजना तथा प्राथमिकताहरू प्रस्तुत गर्नुभयो। उहाँले महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै क्लबलाई अझ सक्रिय र उदाहरणीय संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष भोजराज पौड्यालले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभयो। उहाँले इनर ह्विल र रोटरीबीचको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै समाज सेवाका कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी दिपिका शर्माले दुर्गामाया श्रेष्ठको कार्यकाल क्लबको इतिहासमै उपलब्धिमूलक रहेको उल्लेख गर्दै आगामी नेतृत्वमा सीता खनालको कार्यकाल अझ सफल र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमकी प्रमुख अतिथि इनर ह्विल क्लब डिष्ट्रिक्ट ३५० की जिल्ला उपाध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले निवर्तमान अध्यक्ष दुर्गामाया श्रेष्ठको नेतृत्वमा सम्पन्न भएका कार्यहरूको प्रशंसा गर्दै सैनामैना क्लबले आगामी दिनमा पनि उत्कृष्ट सामाजिक सेवा गर्दै जिल्लामै उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विशेष गरी महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो।
क्लबका पदाधिकारी, सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।












